स्थानीय उत्पादन बिक्रीका लागि तनहुँको देवघाट र बन्दीपुर गाउँपालिकामा कोसेली घर

स्थानीय वस्तु बिक्रीका लागि जिल्लाका विभिन्न ठाउँमा कोसेली घर सञ्चालन भएका छन् । तनहुँको देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा पालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा भएका हुन् ।

देवघाट गाउँपालिका–५ का उद्यमशील महिलाहरूले कोसेली घर सञ्चालन गरेका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रमअनुसार आइतबारदेखि कोसेली घर सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो ।

कोसेली घरमा उद्यमशील महिलाले आफूले उत्पादन गरेको हरेक वस्तु ल्याएर बिक्री गर्न सक्नेछन् । देवघाट गाउँपालिकाले विगतमा सञ्चालन गरेका विभिन्न हस्तकला, सिलाइसम्बन्धी कुसन, दुना टपरी बनाउने तालिम प्राप्त गरेका महिलालाई लक्ष्य गरी गाउँपालिकाको स्वीकृत बजेटअनुसार कोसेली घर स्थापना गरेको हो ।

कोसेली घरमा हस्तकलाद्वारा निर्मित सामग्री ल्याएर बिक्री वितरण गर्न र बाहिरबाट देवघाट घुम्न आउने पाहुना र पर्यटकलाई कोसेलीस्वरुप प्रदान गर्न सकिने गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले जानकारी दिनुभयो ।

यसैगरी बन्दीपुरमा गाउँपालिका र बन्दीपुर परिश्रमी युवा समूहद्वारा हाम्रो बन्दीपुर कोसेली घर सञ्चालनमा आएको छ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पाहुनालाई लक्षित गरी कोसेली घर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटक घुम्नका लागि आउँछन् । उनीहरूले बन्दीपुरको चिनारीस्वरुप स्थानीयस्तरमा उत्पादित सामग्री लैजान सक्छन् । यहाँ खाद्यान्नदेखि हस्तकलाका सामग्री बिक्री वितरणका लागि राखिएका छन् ।”

जिल्लाको सदरमुकाम दमौलीमा पनि कोसेली घर सञ्चालनमा छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँद्वारा सञ्चालित कोसेली घर स्थानीय उत्पादन बिक्री वितरणका लागि प्रभावकारी बनेको छ ।

महिलालाई उद्यमशीलतामा जोड्न कोसेली घर सञ्चालन गरिएको महिला उद्यमी सङ्घ तनहुँका अध्यक्ष कल्पना गौलीले बताउनुभयो । जिल्लाभरका महिलाले उत्पादन गरेका सामग्री एकै ठाउँबाट बिक्री वितरण गर्न कोसेली घर सञ्चालन गरिएको र यो प्रभावकारी बनेको उहाँको भनाइ छ ।

कोसेली घरमा डोको, कुचो, भाङ्ग्रो, ढकिया, बाँसका सामग्री, मुढालगायतका सामग्री बिक्री वितरणका लागि राखिएको छ । महिला उद्यमीबाट खरिद गरी ल्याइएका सामग्री कोसेली घरमार्फत न्यून मूल्यमा बिक्री गरिएको गौलीले जानकारी दिनुभयो । उहाँले कोसेली घरबाट बिक्री भएका सामानको दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषका रूपमा राखिने राससालाई जानकारी दिनुभयो ।

कोसेली घर सञ्चालनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले रु पाँच लाख सहयोग गरेको थियो । उक्त रकमबाट घर सजावट गरिएको छ । त्यस्तै सोही मन्त्रालयबाट रु दुई लाख सहयोग भएको थियो । उक्त रकमबाट गोदाम निर्माण गरिएको छ । कोसेली घर सञ्चालनका लागि पर्यटन तथा उद्योग कार्यालयले भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । कोसेली घरमा आठवटा पालिकाका महिला उद्यमीले बनाएका गरेका सामग्री राखिएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker