तनहुँको सिन्धु सहित गण्डकीका १५ पुस्तकालयलाई प्रदेश सरकारले दियो अनुदान

गण्डकीका १५ सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लाग गण्डकी प्रदेश सरकारले अनुदान उपलब्ध गराएको छ । प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा पुस्तकालय स्तरोन्नति अनुदान कार्यक्रमका लागि ३७ लाख बजेट विनियोजन गरेको थियो ।
मन्त्रालयका अधिकृत हीराबहादुर थापा मगरका अनुसार सात पुस्तकालयले तीन लाख र आठ पुस्तकालयले दुई लाखका दरले अनुदान प्राप्त गरेका छन् । उक्त बजेट अनुसारको कार्यक्रम कार्यान्वयन भई अनुगमन र भुक्तानी प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बर्सेनि प्रदेशभित्रका सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि अनुदान दिँदै आएको छ ।
प्रस्ताव माग गरी मापदण्ड पूरा गर्ने पुस्तकालय मात्र अनुदानका लागि छनोटमा पर्ने गरेका छन् । पुस्तकालय दर्ता, नियमित सञ्चालन, वार्षिक कार्ययोजना, संस्थागत सुशासनलगायतलाई आधार मानेर अनुदानका लागि छनोट गर्ने गरिएको छ । गत वर्ष ३० लाख बजेट वितरण गरिएकामा यो वर्ष बढाएर ३७ लाख पुर्याइएको हो । पुस्तकालयले पुस्तक खरिद, फर्निचर, सूचना प्रविधिलगायतमा अनुदानको बजेट खर्च गर्नुपर्ने प्रावधान छ । पुस्तकालयलाई सामुदायिक अध्ययन केन्द्रका रुपमा विकास गर्दै भूगोल, इतिहास, कला, साहित्य, संस्कृति, पर्यटनलगायत विषयका पठन सामग्रीको व्यवस्थापनबाट गण्डकी प्रदेशको पहिचानलाई सुदृढ बनाउने उद्देश्य लिइएको छ ।
अनुदान पाउने पुस्तकालय
यो वर्ष अनुदान पाउने पुस्तकालयमा कास्कीको दीपशिखा, पोखरा सार्वजनिक पुस्तकालय, हिमालय पुस्तकालय छन् । यस्तै बागलुङको विद्यामन्दिर, स्याङ्जाको कालिका, लक्ष्मी स्मृति, अर्जुनचौपारी, जमजुङको लक्ष्मीनारायण, भोटेओडार, मुस्ताङको थाक, तनहुँको सिन्धु, गोरखाको त्रिभुवन, नवलपुरको शिवशक्ति, नवक्षितिज र फूलबारी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले अनुदान पाउने भएका छन् ।