पाठेघर र स्तन क्यान्सरको निःशुल्क परीक्षण शिविर सञ्चालन

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाको वडा नं. ६ श्याम्घाको अम्रेनीमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको परीक्षणका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाको आयोजना तथा व्यासनगरपालिकाको सहयोग र बीपी कोइराला मेमोरिएल क्यान्सर अस्पताल चितवनको प्राविधिक सहयोगमा सोमबारबाट दुइ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिबिरको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरी उपचार सेवा प्रदान गरिएको बताए । उनले स्वास्थ्य परीक्षणका क्रममा क्यान्सर देखिए गण्डकी प्रदेश सरकारले निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेकोले उक्त सुबिधा लिनबाट बञ्चित हुन नहुने बताए ।

बीपी कोइराला मेमोरिएल क्यान्सर अस्पताल चितवनकी चिकित्सक अयोध्या पाठकले खानपान र वातावरणका कारण क्यान्सर रोग लाग्न सक्ने हुँदा सूर्तिजन्य, चुरोट, गुटखा, डढेको, सडेगालेका बस्तुदेखि टाढा हुनुपर्ने बताए। २५ देखि ४५ उमेर समुहका महिलाहरु पाठेघर क्यान्सरका कारण अकालमा ज्यान गुमाउनु परेको तथ्याङ्क उल्लेख गर्दै उनले अकालमा मृत्यु हुनबाट जोगाउन यस्ता शिबिर सञ्चालन गर्न जोड दिए । क्यान्सरको लक्षण देखिनु अगाबै स्वास्थ्य परीक्षण गराउन प्रभावकारी हुन्छ । उनले भने ‘३० बर्षदेखि ६० बर्षका महिलाहरुले पाँच पाँच बर्षमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ ।’

नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति कृष्ण्हरी वाग्लेले रेडक्रसले समाजमा परोपकारको कार्य गर्दै आएको उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाका सभापति सिद्धिभक्त पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास-६ का वडाध्यक्ष सुर्यभक्त भण्डारी, नेपाल रेडक्रस सोसाइटी तनहुँका सदस्य सूर्यचन्द्र हड्खले, इन्दु माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकाजी श्रेष्ठ, श्याम्घा उपशाखाका उपसभापति नारायणी अधिकारी, सचिव रबिला न्यौपाने भण्डारी लगायतका वक्ताहरुले स्वास्थ्य सम्बन्धी आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

उक्त शिबिरको पहिलो दिन सोमबार १५८ जनाको पाठेघरको मुखको क्यान्सर र २०५ जनाको स्तनको परीक्षण गरेको छ । बीपी कोइराला मेमोरिएल क्यान्सर अस्पताल चितवनकी चिकित्सक अयोध्या पाठकको नेतृत्वमा आएको टोलीले उक्त संख्याका महिलाहरुको परीक्षण गरेको हो । उक्त संख्या मध्ये चार जनामा हृयुमनप्याथोला भेटिएको उपचारमा संलग्न चिकित्सक पाठकले बताइन्। यदि समयमै स्वास्थ्य परीक्षण नगराएको भए पन्ध्र बर्षपछि क्यान्सर हुने सम्भावना थियो, त्यो खतराबाट जोगाउन सकिएको उनले जानकारी दिइन् ।

उपचार गरिएका महिलाहरु मध्ये ६० प्रतिशत महिलाहरुमा पाठेघरको संक्रमण समस्या भेटिएको छ । आठ जनामा क्यान्सरको शंका लागेकोले थप एलबीसी परीक्षणको लागि चितवनमा पठाइने उनले बताइन्। पाठेघर दुइ र तीन स्टेजमा झरेका १२ जना, सिष्ट झरेका ८ जना भेटिएको छ । त्यसैगरी २०५ जनाको स्तन परीक्षण गर्दा ८ जनामा निमोग्राम भेटिएकोले थप उपचारको लागि रिफर गरिने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker