पहेंलो कार्ड प्राप्त अपाङ्गता भएकाहरुलाई भत्ता वितरण
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँको व्यास नगरपालिकाले ‘ग’ वर्गाको पहेलो कार्ड प्राप्त अपाङ्ता भएका व्यक्तिहरुलाई भत्ता वितरण गरेको छ । नगरपालिकाको १४ वटै वडाका १८२ जनालाई वार्षिक चार हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता वितरण गर्दै आएको नगर उपप्रमुख मीरा जोशीले बताइन् ।
‘नेपाल सरकारले पहेलो कार्ड प्राप्त व्यक्तिलाई प्रोत्साहन रकम नदिने निर्णय गरे पनि व्यास नगरपालिकाले प्रोत्साहनस्वरुप सो भत्ता दिंदै आएको छ’, उपप्रमुख जोशीले भनिन्, ‘यस क्रममा नगरपालिकाले १४ वटै वडाका गरी १८२ जना (ग) वर्गका अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन स्वरुप भत्ता वितरण गर्दै आएको छ ।’
‘क’ र ‘ख’ वर्गमा परेका व्यक्तिहरुलाई सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गरे पनि ‘ग’ वर्गलाई सुविधा प्रदान नगरेकाले नगरपालिकाको तर्फबाट प्रोत्साहनस्वरुप सहयोग गरिएको उनले बताइन् ।
पहेलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई वार्षिक चार हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरे बमोजिम नगरपालिकाको आन्तरिक कोषबाट सो रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।
नगरपालिकाले वडा नं. १ देखि ४ वडासम्मका ‘ग’ वर्गका पहेंलो कार्ड प्राप्त व्यक्तिहरुलाई प्रोत्साहन रकम वितरण गर्न थालिएको व्यास नगरपालिका महिला तथा बाललबालिका शाखाका प्रमुख राधा वाग्लेले जानकारी गराइन् । उनले भनिन्, ‘सरकारले रातो र नीलो कार्ड प्राप्त व्यक्तिलाई मात्र प्रोत्साहन रकम दिने गरेको छ, तर व्यास नगरपालिकाले पहिलो कार्ड भएकालाई पनि रकम प्रदान गर्न बैठकबाट पारित गरेरै वितरण शुरु गरेको छ ।’










