वनमा आधारित लघुउद्यमले उकासेको जीवनस्तर
सम्झना रसाइली
केही वर्षअघिसम्म बन्दिपुर गाउँपालिका-४ जुमडाँडाकी माया थापाको दैनिकी घरको चुलो चौकोमै बित्थ्यो । गाउँघरमा कोही नयाँ मानिस आउँदा बोल्न समेत डराउने माया अहिले सामाजिक संघसस्थाको नेतृत्वदायी भुमिका समेत निर्वाह गर्न थालेकी छन् । डढेलो र मनलाग्दी रुख विरुवा काटिदा घरछेउकै जंगल उजाडिदै पनि गएको थियो । वन उजाडीय जस्तै आफ्नो दैनिकी पनि उजाड बनेको उनलाई अनुभति हुन्थ्यो ।
२०६५ सालमा उजाडिएको वनलाई संरक्षण गरी स्थानीय उपभोक्ताको जीवनस्तरलाई हराभरा बनाउने भन्दै सम्बन्धित संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु लिएर गाउँ पसेपछि अहिले मायाको मात्र होइन गाउँकै पहिचान बदलिएको छ । ‘डिभिजन वन कार्यालययको सक्रियतामा जुमडाँडा झप्री सामुदायिक वन उपभोक्ता समिति गठन गरेसंगै हरियो वन कार्यक्रम अन्तरगत सञ्चालन गरिएका कार्यक्रमले महिलाहरुको आर्थिक र सशक्तिकरणमा ठुलो मद्दत पुग्यो’, मायाले भनिन्, ‘हरियो वन कार्यक्रम अन्तरगत सञ्चालित वनमा आधारित आयआर्जन मुलक कार्यक्रम, महिला सशक्तिकरणका विषयमा गरिएको प्रशिक्षण जस्ता कार्यक्रमले गाउँका महिलाहरुलाई आफ्नो कुरा भन्न सक्ने देखि नेतृत्वतहसम्म पुर्याएको छ ।’
झप्री सामुदायिक वन उपभोक्ता समितिको सचिव समेत रहेकी मायाले अहिले गाउँमै बुंगुर पालेकी छन् । ‘४ वर्ष अगाडि हरियो वन कार्यक्रम अन्तरगतको घुम्ति कोषबाट २० हजार रुपैयाँ सापाटी लिएर ३ वटा बुंगुर पालेको थिए’, उनले भनिन्, ‘ती बुंगुर बेचेर ७० हजार रुपैयाँ आम्दानी भयो । अहिले ७ वटा बुँगुर पालेकी छु । गर्न सकियो भने गाउँमै विभिन्न कामबाट पैसा कमाउन सकिदो रहेछ ।’
यस्तै, पहिले अरुको अगाडि उभिएर आफ्नो नामसम्म भन्न डराउने यहाँका महिलाहरु अहिले निर्धक्क भएर आफ्ना बिचारहरु राख्छन्, महिला हक हितका विषयमा बहस गर्न सक्नेसम्म भएको उपभोक्ता समितिकी पूर्वअध्यक्ष लक्ष्मी रानामगरले बताइन् । उनले भनिन्, ‘पहिला आफ्नो नाम समेत भन्न लजाउने, कोही नयाँ मानिस गाउँमा आउँदा बोल्न समेत डराउथ्यौं, सामुदायिक वन उपभोक्ता समिति खडा गरिएसंगै भएका विभिन्न कार्यक्रमका कारण हामी नेतृत्व तहसम्म आउन सफल भएका छौं ।’

‘हरियो वन कार्यक्रम अन्तर्गत सञ्चालन हुने सिकाई केन्द्र कार्यक्रममार्फत विभिन्न आयमुलक कार्यक्रममा हामी सहभागी भयौं’, उनले भनिन्, ‘बायो ग्यास बनाउने, सुधारीएको चुलो बनाउने, वनमा खेरा गइरहेको पातहरुबाट दुना टपारी बनाउन सिक्ने, जाम, अचार बनाउने, कृषि, पशुपालन लगायतका आयआर्जन मुलक कार्यक्रमले हामीलाई उद्यामी बनाएको छ । घरको चुलोचौकोबाट बचेको समयलाई सदुपयोग गरी सानो लगानीमा गरिएको कर्मले हाम्रो जीवनस्तर फेरिएको छ ।’
वनसंग केन्द्रित भई गरिएका कार्यक्रमले गाउँका महिलापुरुषहरुलाई गाउँमै स्वरोजगार बनाएको छ । वनमा आधारित भई पशुपालन, अचार, जाम, दुनाटपारी जस्ता घरेलु उद्योगहरु सञ्चालन गरिदा महिलाहरु आर्थिक रुपमा बलियो बन्दै गएको पूर्वअध्यक्ष रानामगरले बताइन् । उनले भनिन्, ‘पहिले केही पैसाको लागि पनि श्रीमानको आशा गर्नु पर्दथ्यो तर अहिले हामीहरु आफै सक्षम बनेका छौं ।’ अहिले यहाँका महिलाहरुले प्रगातिशिल सिकाइ केन्द्र आमा समूह पनि गठन गरेका छन् । ४१ जना सदस्य रहेका यस समूहका सदस्यहरुले मासिक रुपमा समूहको कोषमा एकसय रुपैयाँ बचत गर्न थालेका छन् ।
पूर्वाध्यक्ष रानामगरले भनिन्, ‘समूह गठन भएको पहिलो वर्ष हरियो वन कार्यक्रममा सहभागि भएबापत आउने खाजा खर्चबाट कटाएर २० रुपैयाँ संकलन गथ्र्यो । अहिले वनमा आश्रति सबै दिदीबहिनीहरु केही न केही वनजन्य उद्योग व्यवसायमा संलग्न हुनुहुन्छ र त्यहीको आम्दानीबाट आएको पैसा जम्मा गर्ने गरेका छौं ।’ अहिले यहाँका दिदीबहिनीहरुले व्यवसायीक रुपमा बुंगुर, कुखुरा, बाख्रा पाल्ने, तरकारी खेती तथा जाम, अचारका साथै दुनाटपारी उत्पादा गर्ने घरेलु उद्योग समेत सञ्चालन गरी आर्थिक उपार्जनमा जोडिएका छन् ।
यस्तै, हरियो वन कार्यक्रम मार्फत उपलब्ध गराएको टपारी बनाउने मेसिन उपभोक्ता राममाया रानाले उपभोग गर्दै आएकी छिन् । राममायाले भनिन्, ‘पहिला हामीले समूहमा दुना टपारी बनाउने गथ्र्यौ । अहिले आमदानीको ३ प्रतिशत समितिलाई उपलब्ध गराउने र्सतमा म आफैले जिम्मा लिएर टपारी उत्पादन गर्ने गरेकी छु ।’
‘पहिले घरायसी काममै वित्ने मेरा दिनहरु अहिले टपारी बनाउने र त्यसको बजारीकरणमै बित्ने गर्दछ’, उनले भनिन्, ‘तनहुँ र आसपासका जिल्लामा यसको बिक्रीबितरण गर्छर्ुु अहिले कोरोना संक्रमणको नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बजारीकरणमा केही समस्य आएको छ । आफैले आमदानी गर्न थालेपछि बालबालिकाको पठनपाठन तथा घरखर्चामा सहजिकरण भएको छ।’
दुइ व्लक गरी करिब ६४.६४ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा विशेष गरी सालका विरुवा हुर्किएको अध्यक्ष बिलबहादुर गुरुङले बताए । उनले भने, ‘सालसंगै चिलाउने, कटुस, साज, काफल लगायतका विभिन्न जडिबुटीका बोट विरुवा पनि हाम्रो वन क्षेत्रभित्र संरक्षित छन् ।’ त्यस्तै, वनमा चितुवा, भालु, बाँदर, स्याल, वन विरालो लगायतका वन्यजन्तु तथा विभिन्न परजातिका चराचुरिङ्गीहरुको समेत बसोवास बढेको उनले बताए ।
मानवीय लापरवाहीका कारण उजाडिएको पाखा पखेरा वनसंरक्षण र प्रवर्द्धन अभियानले हरियाली बढेको छ, वन क्षेत्र वृद्धि मात्र होइन वन्यजन्तुको आश्रयस्थल, पानीका श्रोत संरक्षणका साथै उपभोक्ताको जीवनस्तरमा समेत परिवर्तन आएको अध्यक्ष गुरुङ बताउछन् । वनमा आश्रति १०३ घरधुरीका उपभोक्ताहरुलाई आर्थिक समृद्धि तर्फ उकास्नका लागि सामुदायिक वनले जिविकोपार्जन तथा घुम्तीकोष मार्फत बाख्रापालन, हलोजुवा कार्यक्रम, तरकारीको बीउ उत्पादन, भैंसी, बाख्रा, कुखुरा पालन, दुना टपरी उद्योग, जाम उद्योग जस्ता आयमुलक कार्यक्रमहरु सञ्चालनका लागि सहयोग गर्दै आएको छ ।
‘कोषमा करिव ७ लाख रुपैयाँ संकलन भएको छ’, उनले भने, ‘हाम्रो वनमा बिक्री गर्ने ठुलाठुला काठहरु नहुँदा काठबाट आमदानी त हुँदैन । यहि कोषको पैसा बिना व्याजमा उपभोक्तालाई आयमुलक व्यवसायमा जोड्नका लागि रकम सहयोग गर्दै आएका छौं ।’










