पशु फार्मको अनुगमन : पशुको औषधी उपचार, प्राविधिक तथा चिकित्सकको अभाव रहेको गुनासो
भञ्ज्याङ समाचारदाता/तनहुँ
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यवसायिक रुपमा सञ्चालन गरिएको पशु फार्मको अनुगमन गरी कृषकहरुसंग अन्तरक्रिया गरेको छ । केन्द्रले शुक्लागण्डकी नगरपालिका-१० का दुइ वटा पशु फार्मको शुक्रबार अनुगमन गरेको हो ।
पशुपालन व्यवसायमा कृषकले भोग्नुपरेका समस्या, चुनौति र समाधानका उपाय बारे छलफल गर्न र व्यावसायिक रुपमा पशुपालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित केन्द्रले स्थलगत अनुगमन गरेको हो ।
शुक्लागण्डकी-१० वैशाखेघाट लाइभस्टक एग्रो प्रालि र युनिक मल्टि एग्रो प्रालिको अनुगमन गर्दै सञ्चालकसँग छलफल गरिएको थियो । त्यसक्रममा दुवै फार्मका सञ्चालकहरुले पशुपालन व्यवसायमा भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए ।
अनुगमनमा पुगेका टोलीसंग लाइभस्टक एग्रो प्रालिका रुप बहादुर गोतामेले पशुपालक कृषकहरुले समयमै औषधी उपचार तथा चिकित्सकको अभाव झेल्नु परेको गुनासो गरे । सरकारी स्तरबाट प्राविधिक, औषधी उपचार तथा पशु चिकित्सकको सहज व्यवस्थापन गरिदिएमा सहज हुने बताए ।
‘हाम्रो समस्या सरकारले देख्दैन, सुन्दैन । लकडाउनको समयमा भ्याक्सिन नपाउँदा भैंसी मर्दा धेरै क्षति व्यहोर्नु पर्यो’, उनले भने, ‘वैदेशीक रोजगारीबाट फर्किएर गाउँमै केही गरौ भन्ने लक्ष्यका साथ समुहमा आवद्ध भई पशुपालन व्यवसाय गरिएको छ । हामीलाई निराश होइन उत्साहित हुने गरी राज्य तथा अन्य सरोकारवाला निकायले साथ सहयोग गरिदए सहज हुन्थ्यो ।’
यस्तै, शुक्लागण्डकी-११ साँखेका विशाल पौडेलले उत्पादित उपजको बजारीकरणमा सहजिकरण गरिदिनुपर्ने बताएका छन् । ‘करोडौ रुपैया लगानि गरेर हामी युवाहरु कृषि तथा पशुपालन व्यवसायमा जोडिएका छौ’, उनले भने, ‘नेपालमै केही उत्पादन मुलक काम गर्न र यहि नै रोजगारीको अवसर सिर्जना गर्नुपर्यो भनि हामी साथीहरु जम्मा भएर एउटा सहकारी सञ्चालन गरिएको त्यस सहकारी मार्फत दुध, दही, तरकारी र मासुजन्य उत्पादन पनि बिक्री गरी सहकारी चलाउने र फार्मलाई पनि व्यवस्थित गर्न लागि परेका छौं ।’
पशुपालन तथा कृषि व्यवसायमा उत्साहित भएको बताउँदै पौडेलले भने, ‘हामी रोजगारीको खोजीमा विदेशमा भौतारिएम। अहिले गाउँ फर्किर पशुपालन व्यवसाय सुरु गरिसंगै हामी रोजगारी समेत दिने अवस्थामा पुगेका छौं । हाम्रो फार्ममा १७ जनाले प्रत्यक्ष रोजगारी पाएका छौं ।’ अनुगमन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठ, प्राविधिक रुद्र ठकुरी लगायतका सहभागिता रहेको थियो ।










