बन्दिपुरले जग्गाको कित्ताकाट खुल्ला गर्यो
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाले जग्गाको कित्ताकाट खुल्ला गरेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुल्ला गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालका अनुसार चैत्र ३० गतेको भू-उपयोग परिषद बैठकले बन्दिपुर गाउँपालिकाको भू-उपयोग कार्यविधि २०७९ पारित गरेको छ । गाउँपालिकाले ६ वटै वडाको जग्गा वर्गीकरण गरी मालपोत कार्यालय तनहुँमा बुझाएको छ ।
भू-उपयोग नियमावली अनुसार जग्गा वर्गीकरण गरी आइतवार मालपोत कार्यालय र नापी कार्यालयलाई कित्ताकाट वर्गीकरण पुस्तक हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए । तनहुँका केही स्थानीय तहले सम्पुर्ण रुपमा नियमअनुसार नछुट्याएता पनि यस अघि आँबुखैरेनी गाउँपालिका र अहिले बन्दिपुर गाउँपालिकाले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेका छन् ।
वडा कार्यालयले कित्ताकाटका लागि अब सिफारिस प्रदान गर्नेछ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय तनहुँलाई पत्राचार गरिएको गाउँपालिका अमिन केशव डाँगीले जानकारी दिए ।
गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन् भने राजस्वसमेत प्रभावित हुन पुगेको थियो । भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले सरकारले भू-उपयोग ऐन, २०७६ ल्याएको थियो । उक्त ऐन कार्यान्वयन गर्न यही साल जेठ २३ गते सरकारले भूउपयोग नियमावली, २०७९ ल्यायो ।
नियमअनुसार जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी-खोला, ताल, सिमसार, सार्वजनिक उपयोग र सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ ।









