जग्गालाई ८ क्षेत्रमा वर्गीकरण गरी भानु नगरपालिकाले कित्ताकाट खोल्यो
डिपि अधिकारी/भानु
तनहुँको भानु नगरपालिकाले जग्गाको कित्ताकाट खुल्ला गरेको छ । नगरपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुल्ला गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडाका अनुसार चैत्र २४ गतेको स्थानीय भू-उपयोग परिषद बैठकले भानु नगरपालिकाको भू-उपयोग कार्यविधि २०७९ पारित गरेको छ । नगरपालिकाले १३ वटै वडाको जग्गा वर्गीकरण गरी मालपोत कार्यालय तनहुँमा बुझाएको छ ।
भू-उपयोग ऐन २०७६ र भू-उपयोग नियमावली २०७९ अनुसार जग्गा वर्गीकरण गरी आइतवार मालपोत कार्यालय र नापी कार्यालयलाई कित्ताकाट वर्गीकरण पुस्तक हस्तान्तरण गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।
नियमअनुसार जग्गालाई कृषि क्षेत्र, आवासीय, व्यावसायीक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, वन क्षेत्र, नदी-खोला तथा सिमसार क्षेत्र, सार्वजनिक क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य क्षेत्रमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ।
नगरपालिकाले कृषि क्षेत्र, आवासीय, व्यावसायीक क्षेत्र, औद्योगिक क्षेत्र, वन क्षेत्र, नदी-खोला तथा सिमसार क्षेत्र, सार्वजनिक क्षेत्र र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रमा वर्गीकरण गरेको छ । जग्गाको वर्गीकरण गर्दा ऐन र नियमावली, नापी विभागको भू-उपयोग योजना र स्थानीय आवश्यकताको आधार बनाईएको नगरप्रमुख त्रिपाठीले बताए ।
कृषि क्षेत्र अर्न्तर्गत अन्नबाली, दालहन, तेलहन लगायतका बाली लगाइएको क्षेत्र र बाँझो तथा भविश्यमा खेती हुने क्षेत्र रहेका छन् । आवास क्षेत्र अर्न्तर्गत डुम्रे बेशीशहर राजमार्गको मापदण्ड भन्दा बाहिर दायाँ बायाँ ५०/५० मिटर, अन्य भित्रि सडकको मापदण्ड भन्दा बाहिर ४०/४० मिटर दायाँबायाँ र आवास गरिरहेको क्षेत्र रहेका छन् । नगरपालिकाले जग्गालाई ८ क्षेत्रमा वर्गीकरण गरी राजपत्रमा उल्लेख गरिएको छ ।
वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्नेछ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय तनहुँलाई पत्राचार गरिएको नगरप्रमुख त्रिपाठीले बताए ।
गत वर्ष जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच रोकिएको थियो । जग्गा कित्ताकाट रोकिदा पालिकाको राजस्वसमेत प्रभावित हुन पुगेको छ । गत बैशाख ५ गते मात्रै परिमार्जन सहित कित्ताकाट खोल्ने मन्त्री परिषद्को बैठकले निर्णय गरेको छ । तालुकदार भूमि ब्यवस्था मन्त्रालयको प्रस्ताबमा मन्त्रिपरिषदको बैठकले कित्ताकाट खोलेर घरजग्गा कारोबार सहज बनाउने निर्णय गरेको थियो ।