बुल्दी खोलामा वृहत सरसफाई : फोहर संकलनमा नेपाली सेना प्रथम
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाको दमौलीस्थित बुल्दीखोलामा शनिबार वृहत सरसफाई कार्यक्रम गरिएको छ । व्यास नगरपालिका-४ दमौली निवासी युवा अभियान्ता सुदीप गफ्फारको सक्रियतामा आयोजित बुल्दीखोलामा वृहत सरसफाई अभियान सञ्चालन गरिएको हो ।
बुल्दी र चुँदीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्देश्यसहित वृहत सरसफाई अभियान सञ्चालन गरिएको अभियान्त गफ्फरले बताएका छन् । भावी पुस्ताका लागि दुवै खोला संरक्षण गर्नुपर्ने अवस्था आएको र दुवै खोलाको अवस्था देखेर सरसफाई अभियान अगाडि ल्याएको उनले बताए ।
सरसफाई अभियान अन्तर्गत धेरै फोहर संकलन गर्नेलाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो। धेरै फोहर संकलन गर्नेमध्ये प्रथम हुनेलाई दश हजार र द्वितीय हुनेलाई नगद पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
उक्त अभियानमा सहभागि नेपाली सेनाको टोलीले एक हजार केजीभन्दा बढी फोहर संकलन गरी प्रथम भएको छ। युवा अभियान्ता गफ्फारको सक्रियतामा सञ्चालित सरसफाइ अभियानमा धेरै फोहर संकलन गर्ने व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभञ्जन गण (इ)लाई पुरस्कृत गरिएको छ ।

व्यास नगरपालिका-१ करङकाठदेखि व्यास नगरपालिका-३ सेतीबुल्दी दोभानसम्म भएको सरसफाइमा सेनाले एक हजार २४ किलो फोहर संकलन गरेको थियो । त्यस्तै व्यास नगरपालिका-२ स्थित पुलजीप टोल विकास संस्थाले ९४० दशमलव सात किलो फोहर संकलन गरी दोस्रो स्थान हासिल गरेको छ । प्रथम भएको समूहलाई नगद १० हजार र प्रमाणपत्र तथा दोस्रो भएको समूहलाई नगद पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै, विद्यालयस्तरीय बालबालिकाबीच भएको उक्त प्रतिस्पर्धामा न्यू मनकामना बोर्डिङ स्कूल प्रथम र कन्काइ ग्लोबल एकेडेमी दोस्रो भएको छ। मनकामनाका विद्यार्थी समूहले ६४५ दशमलव नौ र कन्काइका विद्यार्थी समूहले ५१६ दशमलव नौ किलो फोहर संकलन गरेका थिए । उनीहरुलाई क्रमशः चार हजार र दुइ हजार नगद पुरस्कार प्रदान गरिएको छ । त्यसक्रममा कूल ५४ समूहको सहभागिता रहेको थियो ।
बुल्दीखोला दिनप्रति दिन प्रदूषित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको अभियान्ता गफ्फारले बताए । खोला सरसफाइसँगै प्रतियोगिात्मक रुपमा सञ्चालन गरिएको यस अभियानले सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको उनले बताए ।
बृहत् सरसफाइ अभियानका लागि टोल, विद्यालय, क्याम्पस, संघसंस्था लगायतबाट साथ र सहयोग पाएको उनले बताए । ‘बुल्दीखोला स्वच्छ र सफा राख्ने उद्देश्यसहित बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको हो’, उनले भने, ‘भावी पुस्ताका लागि खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । खोलाको अवस्था देखेर सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको हुँ ।’

बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उनले भने, ‘महर्षि वेदव्यासले बुल्दीखोलामा हात धोएको धार्मिक महत्व छ । त्यसकारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुङ्गाढुङ्गामा देवताको बास छ ।’
यस्तै, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एउटा युवाको सक्रियतामा बुल्दीखोला बृहत् सरसफाइ अभियान हुनु खुसीको कुरा भएको बताए । उनले भने, ‘यो अभियानमा सबैको सद्भाव र सहयोग हुन राम्रो कुरा हो ।’ व्यास नगरपालिकाका पूर्वप्रवक्ता मोहनकुमार श्रेष्ठले समाज बदल्न पहिला आफू बदलिन पर्ने बताउँदै त्यसको नेतृत्व एउटा युवाले गरेकामा खुसी व्यक्त गरे ।
त्यस्तै, गफ्फरकै नेतृत्वमा आगामी जेठ ५ गते भानु र बन्दीपुरको सिमानास्थित चुँदीखोलामा वृहत सरसफाइ अभियान सञ्चालन गरिने भएको छ ।










