आयआर्जन बृद्धि सहयोगका लागि अभिमुखिकरण
भञ्ज्याङ समाचारदाता/दमौली

अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जन वृद्धि सहयोगका लागि अभिमुखिकरण गरिएको छ । रिसेड तनहुँले ४२ जना अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार बन्न आयआर्जनमा सुधार ल्याउने उद्देश्यले उनीहरुले रोजेको सीप तथा साना उद्यम विकासका लागि आवश्यक सहयोग गर्ने गरी दमौलीमा अभिमुखिकरण कार्यक्रम गरेको हो ।
अभिमुखिकरण कार्यक्रममा व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले अपाङ्गता भएका व्यक्तिका संस्थाहरुले तनहुँमा गरेको कामको चर्चा गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने खालका काम गर्न सुझाव दिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेधिले पनि अपाङ्गता भएका व्यक्तिहरुलाई समान रुपमा कार्यक्रममा सहभागि गर्न तथा उपलब्ध सेवा सुविधाहरु पनि सहज रन्यायोचित ढंगले उपलब्ध गराउन आग्रह गरेका थिए ।
सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश, सामाजिक विकास कार्यालय, तनहुँको सहयोगमा १४ जना र व्यास नगरपालिकाको आर्थिक सहयोगमा २८ जना अपाङ्गता भएका व्यक्तिहरुले बाख्रापालन, कुखुरापालन, सुंगुरपालन, तरकारीखेती, किराना पसल, कम्प्युटर तालिम लगायतका स्वरोजगारमुलक व्यावसाय तथा सीप सिकाउनका लागि रिसेड तनहुँले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
व्यास नगरपालिकाका पशुरोग विशेषज्ञ डाक्टर मनोज विक, प्रतिमा बगाले र प्रताप गुरुङगले सहभागीहरुलाई कार्यक्रमका विषयमा सहजिकरण गरेका थिए । व्यास-८ निबासी अति अशक्त अपाङ्गता भएका झलक विककी आमा हिरामाया विकले २ वर्षअगाडी रिसेडको सहयोगमा १ वटा बाख्रा पाएकोमा हाल आफनो गोठमा जम्मा ९ वटा बाख्रा भएको बताइन् ।

सामाजिक विकास कार्यालय, तनहुँका प्रमुख विक्रम सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुको गरिबी निबारण गर्दै आत्मनिर्भर बनाउन यो कार्यक्रमले योगदान पुर्याउनेमा विश्वास व्यक्त गर्दै आगामी वर्षमा पनि आर्थिक सुधारका कार्यक्रमलाई निरन्तरता दिने बताए ।
रिसेड तनहुँका अध्यक्ष पदम बहादुर परियारले पेशा शुरु गर्नुभन्दा अगाडी अभिमुखीकरण गरेको, उद्यम वा सीप सिक्नको लागि विउँपुँजी सहयोग गर्ने र त्यसपछि पनि प्राविधिकहरु म्ाार्फत निरन्तर आवश्यक अनुगमन र सहयोग उपलब्ध गराउने जानकारी गराए ।










