लागूपदार्थको दुर्व्यसनमा कलिला बालबालिका फस्दै
भञ्ज्याङ समाचारदाता/दमौली

लागूपदार्थ दुर्व्यसनबाट जोगाउन अभिभावकको भूमिका परिवर्तन गर्नुपर्नेमा दमौलीमा आयोजित एक कार्यक्रमका सहभागी विज्ञले जोड दिएका छन् । श्रृजनशील युवा मञ्च तनहुँद्वारा लागूपदार्थको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित भर्चुअल अन्तर्क्रियाका प्रमुख वक्ता मनोवैज्ञानिक परामर्शदाता डा. सुशील कँडेलले अभिभावकले स साना कुरामा मात्र ध्यान दिने र साथी बन्ने हो भने धेरै बालबालिका दुर्व्यसनमा नफस्ने बताउनुभयो ।
उहाँले अहिले लागूऔषध प्रयोगकर्तालाई पक्रने तर त्यो बाटोमा जानबाट रोक्ने काम कतैबाट नभएको भन्दै दुखेसो गर्नुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले कानूनले निषेध गरेको लागूऔषधको अवैध ओसापसार रोक्न प्रतिवद्धता जनाउनुभयो ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले नगरपालिकाले लागूऔषधमा बालबालिका तथा युवा जाने अवस्था रोक्नु अपरिहार्य भन्दै यसका लागि नगरपालिकाले सचेतनामूलक काममा सघाउने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले लागूओषध प्रयोगमा दायर मुद्दामा अधिकांश किशोर र युवा रहेको भन्दै यो अवसथा नियन्त्रणका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा रेडक्रस सोसाइटी तनहुँका उप सभापति एवं अभिभावक मञ्च नेपाल तनहुँका अध्यक्ष ऋषिराम पोखरेल, नवयुवा क्लबका अध्यक्ष सनम तामाङ, मञ्चका कार्यक्रम संयोजक पवन चुमी लगायतले समसया समाधानका लागि आ आफ्नो क्षेत्रबाट लाग्ने प्रतिवद्धता जनाउनुभयो । मञ्चका अध्यक्ष पवन पौडेलले दिवसका अवसरमा सचेतनमूलक कार्यक्रम भैरहेको जानकारी दिनुभयो । मञ्चले व्यास नगर क्षेत्रका विद्यालयबीच वक्तृत्वकला प्रतियोगिता पनि गर्दैछ ।










