भानुका प्रधानाध्यापकहरुको बैठक, सञ्चालित कार्यक्रमको समिक्षा
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न गरिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको प्रअहरूको नियमित बैठकमा चालु आर्थिक वर्षको हालसम्म सम्पादन गरिएका कार्यक्रमको समिक्षा गरिएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलको अध्यक्षता आयोजित कार्यक्रममा उपप्रमुख उमा गोतामे, सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती, शिक्षा अधिकृत तथा ५३ जना प्रधानाध्यापकहरूको सहभागितामा आयोजित कार्यक्रममा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले भानुको शैक्षिक अवस्था, असल अभ्यासहरू र चालू आव २०७९/०८० मा हालसम्म सम्पन्न भएका कार्यक्रमहरूका बारेमा जानकारी गराएका थिए ।
नगर शिक्षा अधिकारी पौडेलले हरेक महिनाको ७ गते नियमित प्रधानाध्यापक बैठक बस्ने, आफ्नै शिक्षा ऐन तथा नियमावली निर्माण गरेको, सबै विद्यालयहरूमा इन्टरनेटको सुविधा पुगेको, शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन पुर्णरूपमा सम्पन्न, कक्षा १-८ मा स्थानीय पाठ्यक्रमको रूपमा ‘हाम्रो भानु’ लागू भएको र सो बमोजिम पाठ्यपुस्तक निर्माण भैरहेको सहभागिलाई जानकारी गराएका थिए ।
यस्तै, दिवा खाजाको साप्ताहिक मेनु निर्माण गरी कार्यान्वयन गरिएको, सबै माविहरूमा विज्ञान प्रयोगशाला, पुस्तकालय र सूचना प्रविधि प्रयोगशाला स्थापना भैसकेको, अब क्रमशः आधारभुत तहमा पनि स्थापना हुँदै गर्नै गइएको, मापदण्ड पुगेको सम्बन्धित तहको स्थायी शिक्षकलाई मात्र प्रधानाध्यापकको रूपमा नियुक्ति गर्ने कानुनी व्यवस्था, सबै माविहरूमा सेनिटरी प्याड डिस्पोजलर् इलेक्ट्रोनिक मेशिन जडान गरी प्रयोगमा ल्याइएको, सबै विद्यालयहरू -सामुदायिक र संस्थागत)लाई आइइयमआइयसको दायरामा ल्याइएको उनले जानकारी गराए ।
भानु नगरपालिकाको पञ्चवर्षीय नगर शिक्षा योजना (२०७९/८०-२०८३/०८४) निर्माण भई कार्यान्वयनमा आएको, नगरपालिकाले शिक्षक डायरी निर्माण गरी प्रयोगमा ल्याएको, कक्षा १-३ मा विद्यार्थी मूल्यांकन अभिलेखीकरण फारामको विकास गरी प्रयोगमा ल्याएको, शैक्षिक सत्रको शुरूमा शैक्षिक पात्रो (सबै कक्षा र विषयको वाषिर्क पाठयरुजना समेत भएको) निर्माण गरी प्रयोगमा ल्याएको, बाल विकास केन्द्रको सुदृढीकरणका लागि बाल, खेल तथा सिकाइ सामग्री वितरण गरी केन्द्रलाई स्रोतपूर्ण र बालमैत्री बनाएको शिक्षा अधिकारी पौडेलले बताए ।
यस्तै, महिला शिक्षक सुत्केरी बिदामा बसेको समयमा तीन महिनाका लागि स्वयंसेवक शिक्षक परिचालन गर्ने कानुनी व्यवस्थाका साथ प्रयोगमा ल्याइएको, गरीब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक २६ जनालाई जनहि १ लाख ५० हजारका दरले प्राविधिक शिक्षा छात्रवृत्ति दिने परिपाटी मिलाइएको, नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निरन्तर सञ्चालन भैरहेको, सेनिटरी प्याड वितरण र व्यवस्थापनका लागि प्रत्येक आवि र माविमा महिला फोकल पर्सनको व्यवस्था गरी उनीहरूलाई तालिम दिई क्षमता विकास गरिएको, नगरस्तरीय परीक्षा समिति मार्फत सबै विद्यालय र कक्षामा एउटै प्रश्नपत्रबाट परीक्षा हुने प्रणाली विकास गरिएको, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्षलाई दुइ दिवसीय क्षमता विकास तालिम दिने परिपाटी, आर्थिक वर्षको अन्तमा समग्र कामको विवरण, समीक्षा तथा विश्लेषण गरी स्थिति प्रतिवेदन तयार गरी र्सार्वजनिक गर्ने परिपाटी विकास गरिएको लगायतका प्रगति विवरण र्सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक बैठकका एजेन्डा प्रस्तुत गरी छलफल गरिएको थियो । बैठकमा विद्यार्थी भर्ना र पापुको उपलब्धता, दिवा खाजा, विद्यालय मर्मतसम्भार, बालविकास केन्द्रमा विद्यार्थी संख्या र थप कोटा वितरण, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रगति, विद्यालय मर्जिङ तथा आगामी आव २०८०/०८१ मा शिक्षा, युवा तथा खेलकुद क्षेत्रका लागि आवश्यक कार्यक्रम र बजेटका सन्दर्भमा प्रधानाध्यापकहरूबाट सुझाव माग गरिएको थियो ।










