चार महिनाभित्र “उज्यालो तनहुँ”
रासस (तनहुँ)

जिल्लालाई आगामी चार महिनाभित्र अन्धकारमुक्त बनाउने लक्ष्य राखिएको छ । विद्युत् विस्तारका लागि डेढ वर्षे प्रोजेक्ट शुरु भए पनि बाढीपहिरो र कोरोनाका कारण सम्झौताअनुरुप काम गर्न नसकिएपछि पुनः चार महिनाभित्र उज्यालो तनहुँ बनाउन लागिएको हो । जिल्लाको ऋषिङ गाउँपालिका-१ स्थित झापुटारमा १४० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाद्वारा प्रभावित भएका क्षेत्रमा विद्युत् विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। जिल्लाको देवघाट गाउँपालिका-२ अर्न्तर्गत खाल्टे, कोटबैदी, छिपछिपे, जामडाँडा, नराङ्गा, थामडाँडालगायत क्षेत्रमा अझै विद्युत् लाइन विस्तार गर्न बाँकी छ ।
यही फागुनमा सम्झौता अवधि समाप्त भइसकेको आयोजना व्यवस्था निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार (तनहुँ विद्युतीकरण आयोजनाका) साइड इञ्चार्ज लक्ष्मणप्रसाद रेग्मीले बताउनुभयो । सडकको पहुँच नपुगेका कारण सामान ढुवानीमा कठिनाइ भएकाले सम्पर्ण सामान मानिसले नै बोकेर लैजानुपर्ने भएकाले तोकिएको अवधिमा काम गर्न गाह्रो भएको जनाइएको छ ।
आयोजनाले विद्युत् लाइन विस्तार गर्नुपर्ने अधिकांश क्षेत्रमा लाइन जडान सम्पन्न गर्दै बत्ती बाल्न शुरु गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लाको आँबुखैरेनी-६ स्थित भलडाँडामा ११ केभी प्रसारण लाइन निर्माण गरी केन्द्रीय प्रसारण लाइनमा जोडेर विद्युत् विस्तार गरिएको छ । विद्युत् लाइन जडान पश्चात करीब ६० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।
त्यसैगरी घिरिङ गाउँपालिका-४ अन्तर्गत गड्यौलीटार र वनटारका गरी २५० घरधुरी लाभान्वित भएका छन् । देवघाट गाउँपालिका-१ को कालीटार, कोटा, गोपीटार र देवघाट-५को साउने पानीमा ट्रान्सफरमा क्षमता वृद्धि गरी विद्युत् जडान गरिएको छ । विद्युत् जडानपश्चात् त्यस क्षेत्रका करीब ५०० घरधुरी लाभान्वित भएका छन् । बन्दीपुर गाउँपालिका-६ स्थित सराङघाट र घिरिङगाउँपालिका-४ को सामुङमा कूल रु तीन करोड बढीको लागतमा सव-स्टेशन निर्माण गरिएको बताइएको छ । घिरिङ गाउँपालिकाको अन्य क्षेत्रमा बिजुली पुगे पनि गड्यौलीटार, वनटारमा पुर्याउन नसकिएकाले केही समयअघि मात्रै विद्युत् जडान गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण तनहुँको कार्यक्षेत्रभित्र रहेका करीब ९५ प्रतिशत क्षेत्रमा विद्युत् पहुँच पुगिसकेको प्राधिकरणका सूचना अधिकारी लोकेन्द्रबहादुर कुवँरले जानकारी दिनुभयो । विद्युत् प्राधिकरण तनहुँबाट मात्रै करीब ३६ हजार घरधुरीमा विद्युत् लाइन विस्तार भइसकेको प्राधिकरणले जनाएको छ । सामुदायिक विकास कार्यक्रम अर्न्तर्गत आयोजनाले प्रभावित भएका घरपरिवारलाई पहिलो स्थानमा राखेर विकास भइरहेको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ ।
ग्रामीण क्षेत्रका सबै घरधुरीमा बिजुली विस्तारको लागि विद्युत् पोल गाड्ने, लाइन विस्तार र सव-स्टेशन निर्माणलगायतका कार्य द्रुतगतिमा अघि बढाइएको लाइन निर्माण कम्पनी इष्ट इण्डिया उद्योग लिमिटेडका साइड इञ्चार्ज रोशनकुमार भट्टले बताउनुभयो। विसं २०६८ को जनगणना अनुसार तनहुँको जनसंख्या तीन लाख २३ हजार २८८ रहेको छ । जसमा ७८ हजार ३०९ घरधुरी रहेका छन् भने दुइ हजार ३६२ बस्तीमा छरिएर रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।










