धान, मकै र गहुँको उत्पादकत्व वृद्धि

रासस/गण्डकी

गण्डकी प्रदेशमा मुख्य खाद्यान्न बाली मानिएका धान, मकै र गहुँको उत्पादकत्व वृद्धि भएको छ । प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अनुसार आव २०७८/७९ मा धानमा तीन दशमलव ४३, मकैमा दश दशमलव २२ र गहुँमा सात दशमलव ९२ प्रतिशतले उत्पादकत्व बढेको हो ।

आव २०७७/७८ मा प्रतिहेक्टर ३.५ मेट्रिक टन धान उत्पादन भएकामा आव २०७८/७९ मा बढेर ३.६२ मेट्रिक टन पुगेको हो । आव २०७७/७८ मा प्रतिहेक्टर २.७४ मेट्रिक टन मकै उत्पादन भएकामा पछिल्लो वर्ष ३.२ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । पछिल्ला दुइ आवमा गहुँको उत्पादकत्व पनि बढेर प्रतिहेक्टरमा २.४ बाट २.५९ मेट्रिक टन पुगेको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी मकैको उत्पादकत्व वृद्धि भएको पाइएको छ ।

मुख्य खाद्यान्न बालीको उत्पादकत्व प्रतिहेक्टर ३.८ मेट्रिक टन पुर्‍याउने प्रदेशको पहिलो पञ्चवर्षीय योजनाको लक्ष्य रहेको रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आवधिक योजनाको अन्तिम वर्षमा आइपुग्दा धानमा मात्र उत्पादकत्व लक्ष्यभन्दा केही बढी पुगेको छ ।

नेपालको १५औँ योजनाले भने धानमा प्रतिहेक्टर ४.५, मकैमा ४ र गहुँमा ३.५ मेट्रिक टन उत्पादनको लक्ष्य तोकेको छ । गण्डकीमा खाद्यान्न बालीको उत्पादकत्व वृद्धिमा लक्ष्य उन्मुख रहेको रेग्मीले बताउनुभयो । “उन्नत जात, बिउबीजन, मलको उपलब्धता, प्रविधिक सहजतालगायत कारणले उत्पादकत्व वृद्धिमा मद्दत पुर्‍याइरहेको हुन्छ”, उहाँले भन्नुभयो, “किसानलाई सीप र स्रोतसाधन दिन सकियो भने खेतीको उत्पादकत्व बर्सेनि बढ्दै जान्छ । कृषिमा प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्छ ।”

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले मौसम, अन्नबालीमा लाग्ने रोगव्याधि आदि कारणले पनि उत्पादकत्वमा असर गर्ने बताउनुभयो । “उत्पादकत्वप्रति एकाइ क्षेत्रफलमा मापन हुन्छ, उत्पादत्वक वृद्धि भए पनि समग्र उत्पादन घट्न पनि सक्छ”, उहाँले भन्नुभयो, “कृषिको उत्पादकत्व बढाउनमा किसानको मुख्य हात हुन्छ, त्यसमा राज्यले सघाउनुपर्छ ।”

किसानलाई समयमै मल, बिउबीजन उपलब्ध गराउने, तालिमका साथै सीप र प्रविधि पनि हस्तान्तरण गर्नुपर्ने प्रमुख कडरियाले धारणा राख्नुभयो । खेतीयोग्य जमिनमा जथाभावी घरघडेरी बनाउने प्रवृत्तिलाई रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । “खेती गर्ने जग्गा खुम्चदैँ गएको छ, कतै जग्गा बाँझा छन्”, उहाँले भन्नुभयो, “उत्पादकत्व र उत्पादन नबढाएसम्म कृषिको व्यवसायीकरण सम्भव छैन ।”

मन्त्रालयको आँकडा अनुसार आलु र तरकारी खेतीमा पनि उत्पादकत्व वृद्धि भएको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७७/७८ मा प्रतिहेक्टर १५.५ मेट्रिक टन आलु फलेकोमा पछिल्लो वर्ष बढेर १६.८१ मेट्रिक टन पुगेको छ । जुन अघिल्लो वर्षो तुलनमा आठ दशमलव ४५ प्रतिशतले बढी हो ।

तरकारीमा पनि पछिल्ला दुइ वर्षमा १५ दशमलव ८२ प्रतिशतले उत्पादकत्व वृद्धि भएको मन्त्रालयले जनाएको छ । आव २०७७/७८ मा प्रतिहेक्टर ११ मेट्रिक टन तरकारी उत्पादन भएकामा आव २०७८/७९ मा १२.७४ मेट्रिकटन उत्पादन भएको थियो । आलु र तरकारीको उत्पादकत्व वृद्धिले पनि प्रदेशको पञ्चवर्षीय योजनाको लक्ष्यलाई पछ्याइरहेको देखिन्छ । सो योजनामा आलुको उत्पादकत्व प्रतिहेक्टर १९.९ र तरकारीको १५ मेट्रिक टन पुर्‍याइने उल्लेख छ ।

नेपालको १५औँ योजनाले पनि आलुमा प्रतिहेक्टर १९.१ मेट्रिक टनको लक्ष्य तोकेको छ । उत्पादकत्व बढे पनि खाद्यान्न बालीको उत्पादन भने घट्दै गएको महाशाखा प्रमुख कडरियाले बताउनुभयो । उहाँका अनुसार खेतीको क्षेत्रफल घट्दै जाँदा उत्पादन घटेको हो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker