भानुले मनायो राष्ट्रिय शिक्षा दिवस, शिक्षक, कर्मचारी, विद्यार्थीलाई सम्मान
भञ्ज्याङन्यूज

तनहुँको भानु नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस मनाएको छ । ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाइएको हो । यहि असोज २ तय गरिएको कार्यक्रम स्थगित भएपछि विहीबार नगरपालिकाले दिवस मनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले भानु नगरपालिकाले विद्यार्थी, शिक्षक तथा शिक्षाका सरोकारावाला वर्गलाई सम्मानित गरी थप राम्रो काम गर्नका लागि हौसला बढाएकोमा धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा भानुले जिल्ला स्तरमा नै शैक्षिक क्षेत्रमा नेतृत्व गर्ने गरी अघि बढ्न सबैलाई सुझाव समेत दिएका थिए ।
भानुका नगर प्रमुख आनन्दराज त्रिपाठीले भानु नगरपालिकामा अत्यन्त कुशल शिक्षकहरु रहेको चर्चा गर्दै यसलाई शैक्षिक हवको रुपमा विकास गरिने बताए । उनले आगामी दिनमा शिक्षा क्षेत्रलाई स्थानीय सरकारले उच्च प्राथमिकतामा राखी बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती, शिक्षकका पेशागत संगठनका अध्यक्षहरु, विव्यस अध्यक्ष, प्रधानाध्यापकहरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले स्वागत गर्दै भानुको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ र माध्यमिक शिक्षा परीक्षा -एसइइ) २०७९ मा उत्कृष्ट अंक (जीपीए) ल्याउने १२ जना विद्यार्थीलाई नगद तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । त्यसैगरी ती दुबै परीक्षामा उच्चतम् औसत सिकाइ उपलब्धी ल्याउने उत्कृष्ट २६ जना विषयगत शिक्षकहरु, उत्कृष्ट कार्यसम्पादन गर्ने ५ जना प्रधानाध्यापक तथा शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरु विद्यालय कर्मचारीहरु (लेखा सहायक र कास) र सामुदायिक सिकाइ केन्द्रका समुदाय परिचालक गरी ५५ जनालाई सम्मान पत्र र दोसल्ला ओर्ढाई सम्मान गरिएको थियो ।
यस्तै, गत आर्थिक वर्ष भानु नगर शिक्षा समितिको आव्हानमा सेवावधि बाँकी छँदै स्वच्छिक अवकास लिई दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन कार्यमा सहयोग गर्ने १५ जना सेवानिवृत्त शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरी भानुका नगर शिक्षा अधिकारी ध्रुवराज पौडेललाई पनि उत्कृष्ट कर्मचारीको रुपमा भानु नगरपालिकाले सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरेको थियो । भानु-२ नारेश्वरटार स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा बालबालिकाहरुले साँस्कृतिक कार्यक्रमको प्रस्तुत गरेका थिए ।











