तनहुँका पालिकाहरु चिस्यान केन्द्र निर्माण गर्दै

भञ्ज्याङ समाचारदाता/तनहुँ

जिल्लाका स्थानीय तहले चिस्यान केन्द्र निर्माणलाई प्राथामिकता दिएका छन् । फलफूल र तरकारी खेतीमा पकेट क्षेत्र रहेका पालिकाले चिस्यान केन्द्र निर्माणमा जोड दिएका हुन् । व्यास र शुक्लागण्डकी नगरपालिका एवं म्याग्दे गाउँपालिकामा निर्माणाधीन चिस्यान केन्द्र सञ्चालनको तयारीमा रहेको छ ।

शुक्लागण्डकी नगरपालिका-८ लालिममा एक सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरिएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट रु तीन करोडको लगानीमा उक्त शीतभण्डार निर्माण गरिएको हो । शुक्लागण्डकीको वडा नं ८ आलु र वडा नं ११ सुन्तला खेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको छ ।

नगरपालिकाले आलु र सुन्तला खेतीलाई मध्यनजर गर्दै शीतभण्डार निर्माण गरेको इन्जिनियर तारापति भट्टराइले जानकारी दिनुभयो । चिस्यान केन्द्र नहुँदा जिल्लाका कृषकले उत्पादन गरेका कृषि उपज भण्डारणका लागि लामो दूरी र महँगो शुल्क तिर्नुपर्ने भएकाले चिस्यान केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो ।

करिब पाँच रोपनी सार्वजनिक जग्गामा शीतभण्डार निर्माण गरिएको हो । शीतभण्डार बनेसँगै यहाँका कृषकले उत्पादन गरेका कृषि उपज भण्डारणका लागि पोखरा लैजानुपर्ने बाध्यता हट्ने छ । “भवन बनिसकेको छ, निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले सञ्चालन प्रक्रिया रोकिएको हो, असोज मसान्तदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ”, इन्जिनियर भट्टराइले भन्नुभयो ।

उत्पादन भएका आलु र सुन्तलाको मूल्य मौसममा सस्तोमा बिक्री गर्नुपर्दा कृषकहरू मर्कामा पर्ने गरेका छन् । शीतभण्डारमा भण्डारण गरिएका कृषि उत्पादन वस्तुलाई बेमौसममा बिक्री गर्न पाउँदा कृषकले राम्रो मूल्य पाउन सक्ने विश्वास गरिएको नगरप्रमुख कृष्णराज पण्डितले बताउनुभयो ।

एक मौसमभरि कृषकलाई प्रतिकिलो रु सातका दरले शुल्क लिने योजना नगरपालिकाले बनाएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी व्यास नगरपालिका कार्यालयले चालु आर्थिक वर्षदेखि चिस्यान केन्द्र सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण गरिरहेको छ ।

व्यास नगरपालिका-११ स्थित गैह्रबारीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ । चिस्यान केन्द्र अन्तिम चरणमा पुगेसँगै जिल्लाका व्यावसायिक कृषक उत्साहित भएर कृषि क्षेत्रमा लाग्न थालेको योजना कार्यान्वयन तथा अनुगमन उपशाखाका अधिकृत भेषराज तिवारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा चिस्यान केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो । करिब तीन रोपनी क्षेत्रफलमा रु एक करोड ६२ लाख ३२ हजार दुइ सय ६४ को लागतमा एक सय ३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको हो ।

त्यसैगरी म्याग्दे गाउँपालिकाले म्याग्दे-३ मा चिस्यान केन्द्र निर्माण गरेको छ । दुइ सय मेटिक टन क्षमताको चिस्यान केन्द्र निर्माण भइरहेको इन्जिनियर शिव ज्ञवालीले बताउनुभयो । रु दुइ करोडको लागतमा पासा कन्स्ट्रक्सन निर्माण कम्पनीले काम गरिरहेको छ । उक्त पालिका सुन्तला र आलुखेतीका लागि प्रख्यात मानिन्छ । चिस्यान केन्द्रमा विद्युत् ट्रान्समिटर जडान बाँकी रहेकाले अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका कार्यालयले चार वर्षअघि चिस्यान केन्द्र निर्माणका लागि ठेक्का लगाए पनि निर्माण सुरु नभएको गाउँपालिकाले जनाएको छ । बन्दीपुर-१ नाहालामा निर्माणाधीन चिस्यान केन्द्र निर्माण अघि बढाउन ठेकेदार कम्पनीलाई निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । काम सुरु नगरे कारबाही अघि बढाउन निर्देशन दिएपछि निर्माण अघि बढाउन लागेको उहाँले बताउनुभयो । बन्दीपुर गाउँपालिका सुन्तला खेतीका लागि पकेट क्षेत्रको रूपमा परिचित हुँदै आएको छ ।

त्यसैगरी जिल्लाको आँबुखैरेनी गाउँपालिकामा सहकारीमार्फत संघीय सरकारको अनुदानमा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिका मातहत चिस्यान केन्द्र निर्माण नगरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिका तरकारी र फलफूल खेतीका लागि पकेट क्षेत्र मानिएको छ ।

स्थानीय तहमा चिस्यान केन्द्र निर्माण भएसँगै उत्पादित तरकारी एवं फलफूल बिक्रीमा सहज हुने कृषकको आशा रहेको छ । तनहुँमा चार नगरपालिका र छ गाउँपालिका रहेका छन् । पृथ्वीराजमार्गको पहुँचमा रहेका पालिकाले चिस्यान केन्द्र निर्माणलाई प्राथामिकता दिएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker