मुस्ताङका छोर्तेनः जीर्ण बन्दै गएको हिमाली सभ्यताको मौन धरोहर

विष्णु पौडेल 'निरिस'

मुस्ताङ जिल्ला नेपालको हिमाली क्षेत्रमा अवस्थित एउटा महत्वपूर्ण सांस्कृतिक र धार्मिक केन्द्र हो। यहाँ रहेका छोर्तेनहरू तिब्बती बौद्ध परम्परा, हिमाली सभ्यता र स्थानीय समुदायको ऐतिहासिक पहिचानका महत्वपूर्ण प्रतीक मानिन्छन्। तर पछिल्ला दशकहरूमा संरक्षणको अभाव, जलवायु परिवर्तन, जनसांख्यिक परिवर्तन तथा आधुनिकीकरणका कारण यी सम्पदाहरू क्रमशः जीर्ण र संकटग्रस्त बन्दै गएका छन्।

नेपालको हिमाली भूभागमा अवस्थित मुस्ताङ केवल प्राकृतिक सौन्दर्यका लागि मात्र परिचित छैन, यो तिब्बती बौद्ध संस्कृति र सम्पदाको जीवित संग्रहालय पनि हो। जिल्लाभर फैलिएका गुम्बा,पुराना पर्खाल, तथा छोर्तेनहरूले स्थानीय समुदायको धार्मिक आस्था, सामाजिक इतिहास र सांस्कृतिक निरन्तरताको प्रतिनिधित्व गर्दछन् तर पछिल्ला वर्षहरूमा मुस्ताङका विभिन्न क्षेत्रमा रहेका पुराना छोर्तेनहरू भौतिक रूपमा कमजोर बन्दै गएका छन्। कतिपय संरचनाहरू आंशिक रूपमा क्षतिग्रस्त छन् भने केही पूर्ण रूपमा नष्ट हुने अवस्थामा पुगेका छन्। यस अवस्थाले हिमाली सांस्कृतिक सम्पदाको दिगोपनबारे गम्भीर प्रश्न उठाएको छ।

छोर्तेन (Chorten) संस्कृत भाषाको “स्तूप” शब्दबाट विकसित भएको बौद्ध धार्मिक स्मारक हो। तिब्बती भाषामा “छो” अर्थात् धर्म र “तेन” अर्थात् आधार भन्ने अर्थ लाग्ने भएकाले छोर्तेनलाई धर्मको आधार वा धर्मलाई धारण गर्ने संरचनाका रूपमा बुझिन्छ।बौद्ध दर्शनअनुसार छोर्तेन बुद्धको ज्ञान, करुणा तथा निर्वाणको प्रतीक हो। यसको संरचनाले पाँच तत्व- पृथ्वी, जल, अग्नि, वायु र आकाशको प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ। प्रायः छोर्तेनभित्र धार्मिक ग्रन्थ, मन्त्र, अवशेष तथा पवित्र सामग्री राख्ने परम्परा रहेको पाइन्छ। मुस्ताङमा रहेका धेरै छोर्तेनहरू मध्यकालीन तिब्बती प्रभावसँग सम्बन्धित मानिन्छन्। ती संरचनाहरूले नेपाल र तिब्बतबीचको ऐतिहासिक व्यापारिक तथा सांस्कृतिक सम्बन्धको पनि साक्षी प्रस्तुत गर्दछन्।

छोर्तेनहरू मुस्ताङको सांस्कृतिक परिदृश्यका अभिन्न अंग हुन्। स्थानीय समुदायका लागि यी संरचनाहरू केवल धार्मिक स्मारक मात्र होइनन्, सामूहिक पहिचानका आधार पनि हुन्।धार्मिक हिसाबले हेर्दा छोर्तेन लाई प्रार्थना तथा ध्यानको केन्द्रका रूपमा प्रयोग गरिन्छ।पुण्य आर्जन र आध्यात्मिक शुद्धीकरणसँग जोडिन्छ।सांस्कृतिक दृष्टिकोणबाट स्थानीय कला र वास्तुकलाको प्रतिनिधित्व गर्छ।ऐतिहासिक स्मृति र सामुदायिक परम्पराको संरक्षण गर्छ।हिमाली सभ्यताको दृश्य प्रतीकका रूपमा कार्य गर्छ।यसरी छोर्तेनहरूले धार्मिक, सामाजिक र सांस्कृतिक तीनवटै आयामलाई एकसाथ समेटेका छन्।

मुस्ताङ नेपालका ती क्षेत्रमध्ये एक हो जहाँ जलवायु परिवर्तनका प्रभावहरू स्पष्ट रूपमा देखिन थालेका छन्। तापक्रम वृद्धि, अनियमित वर्षा, हिमपातको स्वरूपमा परिवर्तन तथा तीव्र हावाहुरीले पुराना संरचनाहरूमा प्रत्यक्ष असर पुर्‍याइरहेका छन्।माटो र ढुंगाबाट निर्मित धेरै छोर्तेनहरू वर्षौंदेखिको मौसमी प्रभावका कारण कमजोर बनेका छन्। भित्ताहरू चर्किने, प्लास्टर झर्ने तथा संरचनागत सन्तुलन बिग्रिने समस्या बढ्दो क्रममा छ।धेरै छोर्तेनहरू स्थानीय समुदायको पहलमा निर्माण र संरक्षण भएका हुन्। तर आधुनिक समयमा परम्परागत संरक्षण प्रणाली कमजोर बन्दै गएको छ।तसर्थ छोर्तेन संरक्षणमा कठिनाईहरुमा पर्याप्त सरकारी बजेटको अभाव, प्राविधिक जनशक्तिको कमी, नियमित मर्मतसम्भारको अभाव, संरक्षण नीति कार्यान्वयनमा कमजोरी आदि प्रमुख रहेका छन्।

युवापुस्ता शिक्षा, रोजगारी तथा व्यवसायका लागि शहरी क्षेत्र वा विदेशतर्फ पलायन भइरहेका छन्। फलस्वरूप गाउँमा सांस्कृतिक सम्पदाको हेरचाह गर्ने जनशक्ति घट्दै गएको छ।एक समय सामूहिक श्रमदानद्वारा संरक्षण गरिने संरचनाहरू अहिले बेवास्तामा पर्न थालेका छन्।मुस्ताङका अधिकांश छोर्तेनहरूको ऐतिहासिक विवरण, निर्माणकाल तथा वास्तुकलागत विशेषताहरू व्यवस्थित रूपमा अभिलेखीकरण गरिएको छैन। यसले संरक्षण र पुनर्निर्माण प्रक्रियालाई जटिल बनाएको छ।यो छोर्तेन संरक्षणमा चुनौतीको रुपमा देखापरेको छ।

छोर्तेनहरूको क्षतिले केवल भौतिक सम्पदा मात्र नष्ट गरिरहेको छैन, यसले बहुआयामिक प्रभावहरू पनि सिर्जना गरिरहेको छ।स्थानीय समुदायको ऐतिहासिक स्मृति र सांस्कृतिक पहिचान कमजोर बन्ने जोखिम बढेको छ।धार्मिक अभ्यास तथा परम्परागत आस्थासँग सम्बन्धित स्थलहरू क्रमशः हराउने अवस्थामा पुगेका छन्।मुस्ताङको सांस्कृतिक पर्यटनमा नकारात्मक असर पर्न सक्ने सम्भावना छ।इतिहास, पुरातत्व तथा मानवशास्त्र अध्ययनका महत्वपूर्ण स्रोतहरू नष्ट हुने जोखिम बढेको छ।छोर्तेन संरक्षणका लागि तत्काल व्यापक दस्तावेजीकरण, समुदाय-आधारित संरक्षण, प्राविधिक संरक्षण, जलवायु अनुकूल रणनीति, नीति र बजेट व्यवस्थापनको जरुरी देखीन्छ।

मुस्ताङका छोर्तेनहरू हिमाली सभ्यता, बौद्ध दर्शन तथा स्थानीय समुदायको ऐतिहासिक पहिचानका अमूल्य सम्पदा हुन्। तर संरक्षण अभाव, जलवायु परिवर्तन र सामाजिक परिवर्तनका कारण यी सम्पदाहरू गम्भीर जोखिममा परेका छन्। यदि समयमै प्रभावकारी संरक्षण कार्यक्रम लागू गरिएन भने मुस्ताङले आफ्नो सांस्कृतिक इतिहासका महत्वपूर्ण अध्यायहरू गुमाउन सक्छ। त्यसैले छोर्तेन संरक्षणलाई केवल धार्मिक वा स्थानीय मुद्दाका रूपमा होइन, राष्ट्रिय सांस्कृतिक सम्पदा संरक्षणको प्राथमिक विषयका रूपमा लिन आवश्यक देखिन्छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker