व्यास -१ स्थित भादगाउँ सहलगानी खानेपानी आयोजनामा पाइप विच्छयाइयो

भञ्ज्याङ समाचारदाता/तनहुँ

व्यास नगरपालिका-१ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा सञ्चालित भादगाउँ सहलगानी खानेपानी आयोजनाको ५२ किमी दूरीमा पाइप विच्छयाइएको छ । व्यास नगरपालिका-१ भादगाउँ र व्यास-१२ का एक टोलमा गरी शाखा लाइनमा खानेपानीको पाइप विच्छयाउने कार्य गरिएको सो संस्थाले जनाएको छ ।

आयोजनाको हालसम्म ७० प्रतिशत कार्यप्रगति देखिएको छ । मादी नदी किनारमा पम्प हाउस निर्माण, गार्ड हाउस निर्माण र विद्युत् ट्रान्समिटरलगायत करिब ३० प्रतिशत कार्य बाँकी रहेको छ । नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादी नदी लिफ्ट खानेपानी आयोजनाको निर्माण अघि बढाइएको संस्थाका व्यस्थापक इश्वर श्रेष्ठले जानकारी दिनुभयो । विसं २०८० भदौभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको पराजुली कन्स्ट्रक्सनले सम्झौता अनुरुप काम गर्न नसकेकाले छ महिनाको लागि म्याद थप गर्न प्रक्रिया अघि बढाइएको छ।

उक्त संस्थाले व्यास-४ चुरेखोल्सीस्थित मादी नदी किनारबाट लिफ्ट गरी करिब पाँच किमी लामो दूरीदेखि पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको संस्थाका व्यवस्थापक इश्वर श्रेष्ठले बताउनुभयो । मादी नदीबाट लिफ्ट गरी ल्याइएको पानी व्यास नगरपालिका-१ को अमिली भञ्याङमा चार लाख लिटर र सोही वडाको भदु्रडाँडामा पचास हजार लिटर क्षमताको गरी दुइ वटा रिर्जभ टयाङ्की निर्माण गरी पानी संकलन पश्चात् वितरण गरिनेछ । विश्व स्वास्थ्य संगठनले नमुना खानेपानी संस्था निर्माणका लागि नेपालको ४२ हजार खानेपानी संस्थामध्ये यो खानेपानी संस्था दस वटा संस्थाभित्र छनोट हुन सफल भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको खानेपानी सम्बन्धी अवधारणा अनुरुप अहिले रु उन्नाइस करोडको लागतमा उक्त आयोजनाको काम भइरहेको संस्थाका कोषाध्यक्ष विष्णुबहादुर बस्नेतले जानकारी दिनुभयो । समितिले टयाङ्की निर्माणका लागि दुइ रोपनी जग्गा खरिद र करिब तीन रोपनी सार्वजनिक जग्गा गरी करिब पाँच रोपनी जग्गा प्रयोगमा ल्याई आवश्यक भौतिक संरचना निर्माण गर्न थालिसकेको छ । समुद्री सतहदेखि करिब सात सय मिटर उचाइमा निर्माण गरिने टयाङ्कीमा पानी संकलन गरी आम उपभोक्ताको घरघरमा वितरण गर्ने योजना रहेको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताउनुभयो । मादी नदी लिफ्टबाट प्रतिसेकेण्ड २६ लिटर पानीको भारक्षमता रहने बताइएको छ । पानी संकलनका लागि फिल्टर प्लान्ट र मुख्य प्लान्ट निर्माण यसअघि नै सम्पन्न भइसकेको छ ।

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म दुइ हजार छ सयभन्दा बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । व्यास नगरपालिका-१३ स्थित करादी खिरखादी मुहानदेखि करिब तेह्र किमी लामो दूरीबाट ल्याइएको पानी हाल साना ठूला गरी तीनवटा योजनाबाट उपभोक्तामाझ संस्थाले खानेपानी आपूर्ति गर्दै आएको छ ।

उक्त संस्थाले हाल प्रतिसेकेण्ड १७ लिटर पानी सङ्कलन गरी व्यास-१ का २५ टोल र व्यास-१२ को १ टोलका उपभोक्तालाई वितरण गर्दै आएको थियो । यस क्षेत्रमा बस्ती विस्तार हुँदै गएको र हालको पानीको स्रोतले धान्न नसकेपछि वैकल्पिक खानेपानीको रूपमा मादी नदी लिफि्टङ खानेपानी आयोजनाको निर्माणकार्य अघि बढाएको हो । संस्थाले हाल दुइ हजार छ सय ८० घरधुरीमा पानी वितरण गर्दा एक्काइस हजार बढी मानिस लाभान्वित हुँदै आएकाजनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker