भिमादको जनज्योतिमा कृष्णकुमार स्मृति छात्रवृत्ति अक्षयकोष
भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिकाको जनज्योति माध्यमिक विद्यालयमा कृष्णकुमार स्मृति छात्रवृत्ति अक्षयकोषबाट छात्रवृत्ति वितरण गरिएको छ । कोभिड संक्रमणका कारण निधन भएका भिमादका कम्युनिष्ट नेता तथा सामाजिक व्यक्तित्व स्व कृष्णकुमार श्रेष्ठको स्मृतिमा उनको परिवारले छात्रवृत्ति वितरण गरेको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा परिवारका तर्फबाट छात्रवृत्ति वितरण गरिएको स्व. श्रेष्ठकी छोरी सरिताले जानकारी दिइन् । कार्यक्रममा परिवारले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक तथा झोला वितरण पनि गरेको छ ।
भिमाद नगरपालिका नगर प्रमुख मेखबहादुर थापा, कांग्रेस सभापति जीतप्रकाश आले लगायतले स्वर्गीय श्रेष्ठको भिमाद आसपासका क्षेत्रमा सामाजिक योगदानबारे चर्चा गरेका थिए । हाल ७५ हजारको अक्षयकोष स्थापना गरिएको र यसमा वृद्धि गर्दै जाने कृष्णकुमारका छोरा सरोजले बताए ।
स्वर्गीय श्रेष्ठकी पत्नी विश्वशान्तिको उपस्थितीमा गरिएको अक्षयकोष घोषणाका दिनमा समेत १६ जना बालबालिकालाई झोला, लत्ताकपडा, जुत्तालगायत शैक्षिक सामग्री र पोशाक प्रदान गरिएको थियो ।
कृष्णकुमारका सन्तततिहरु सरोजकुमार, मनोजकुमार, निरजकुमार तथा सरिताका तर्फबाट अक्षयकोष वृद्धिका साथै फाउण्डेशन समेत स्थापना गरेर अघि बढ्ने परिवारले जनाएको छ ।










