आँवुखैरेनीको छिम्केश्वरी माविले हीरक जयन्ती मनाउने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँवुखैरेनी गाउँपालिका-४ को छिम्केश्वरी माध्यमिक विद्यालयले पुस २५ गतेदेखि २८ गतेसम्म विविध कार्यक्रम गरी हीरक जयन्ती मनाउने भएको छ ।
विद्यालयको हीरक जयन्तीको आँवुखैरेनी गाउँपालिका-४ का वडा अध्यक्ष मिलन भुजेलले एक कार्यक्रम बीच शुभारम्भ गरेका छन् । उनले ६० वर्ष पुगेको विद्यालयको हीरक जयन्ती शुभारम्भ गर्नपाउनु सुखद पक्ष रहेको बताउँदै यहाँको शैक्षिक सुधारका लागि आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले शिक्षाको विकास विना अरु विकास सम्भव नभएकोले शिक्षालाई प्राथमिकता दिइनुपर्ने बताए । ‘धेरै अमूल्य विषय र बस्तु छिम्केश्वरी क्षेत्रमा भएपनि यसलाई बजारीकरण गर्न नसक्दा यस क्षेत्रका नागरिकहरु रोजगारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ’, उनले भने, ‘यस क्षेत्रलाई पर्यटनको विकासबाट अघि बढाउनुपर्ने आवश्यकता छ ।’
विद्यालय व्यवस्थापन समितिका सदस्य देवनारायण खवासले यस क्षेत्रमा शिक्षाको विकास नयाँ ढँगले अघि बढेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्ध बहादुर थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रम पुस २८ गते समापन हुने विद्यालयका सूचना अधिकारी काशीनाथ देवकोटाले बताए । नियमित पठनपाठनसँगै विद्यार्थीको अतिरिक्त क्षमता विकास लागि विद्यालयले काम गर्दै आइरहेको उनले बताए ।










