वायु प्रदूषण केही समयसम्म रहन सक्छ

भीष्मराज ओझा/सिबी अधिकारी

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भर्रपर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन् ।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरु बढी प्रभवित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ ।

विभागका उपमहानिर्देशक इन्दुबिक्रम जोशीले सकेसम्म सबै उमेर समूहका नागरिकलाई सम्भव भएसम्म घर बाहिर नकिस्कन, निस्कनैपर्ने अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले फोहर बाल्ने र खुलारुपमा आगो बाल्ने कार्य नगरिदिन, विद्युतीय सावारी साधन बाहेकका अन्य सवारी साधन कम प्रयोग गर्न विभागले आग्रह गरेको छ ।

शुक्रबारयता काठमाडौँ उपत्यका लगायतका स्थानको वायु प्रदूषण सूचक (एक्यूआई) ३०० को हाराहारी रहेको छ । विभागका अनुसार मानव स्वास्थ्यका लागि शून्यदेखि ५० सम्मको एक्यूआइ राम्रो, ५० देखि १०० सम्म सामान्य तथा १०० देखि माथिको तहलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

प्रदूषणको प्रमुख कारण डढेलो

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै तीन दिनदेखि नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जानकारी दिनुभयो । उहाँका अनुसार मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था छैन् ।

विभागकै मौसमविद् मञ्जु बासीले डढेलोका कारण वायुमण्डलमा असर परेको र बाक्लो तुवाँलो लागेको बताउनुभयो । “वायुमण्डल स्थिर छ, हावा तलमाथि भएको छैन त्यसैले उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकेको छ । बेगले हावा चलेको भए तुवाँलो छरिन्थ्यो र विस्तारै आकाश खुल्ने थियो । त्यो देखिदैन मंगलबारदेखि काठमाडौँको आकाश खुल्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो ।

अहिले काठमाडौँ उपत्यका पूरै तुवाँलोले ढाकेको र भिजिबिलिटी कम रहेको उहाँले जानकारी दिनुभयो । प्रदेश नं २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा वायु प्रदूषण देखिएको छ । काठमाडौँ उपत्यका जस्तै अन्य उपत्यकामा पनि बढी असर रहेको मौसमविद् बासीको भनाइ छ । सोमबार साँझदेखि पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भएकाले मङ्गलबारसम्म उक्त वायु काठमाडौँ प्रवेश गरेसँगै मौसममा केही सुधार आउने बताइएको छ ।

पश्चिमी वायुको प्रभावले वर्षाको पनि सम्भावना रहेकाले तुवाँलो हट्ने मौसमविद् बासीले बताउनुभयो। उहाँले तत्कालै ठूलो वर्षा र हावा हुरी चल्ने मौसमी प्रणाली नरहेकाले मौसम पूर्णरुपमा सुधार हुन अझै केही समय लाग्ने जानकारी दिनुभयो ।

अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मौसममा आएको परिवर्तनसँग काठमाडौं उपत्यका भित्रको वायु प्रदूषण बढेकाले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । वायु प्रदूषणले स्वास्थ्यमा विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक कामवाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न गर्न र शरीर पूरै ढाकिने गरी लुगा लगाएर मात्र निस्कन मन्त्रालयले आहृवान गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले वायु प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन गम्भीर असर पर्न सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । प्रदूषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्या बृद्धि भएको छ । साथै दीर्घकालीन रुपमा मुटु र फोक्सोको समस्या बढ्ने, स्नायु प्रणालीमा असर पर्ने बालबालिकाको वृद्धिविकासमा असर गर्ने र क्यान्सरको समस्या हुने उहाँले बताउनुभयो ।

प्रदूषणबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, “प्रदूषित वातारण थप बढ्न नदिन जिम्मेवार निकाय र व्यक्तिले गर्नुपर्ने भुमिका महत्वपूर्ण छ । यस्तो बेला अनावश्यक गाडी प्रयोग नगर्ने, बैकल्पिक ऊर्जाको प्रयोग बढाउने, प्रदूषण कम हुने अन्य बैकल्पिक उपाय अपनाउने, विकास निर्माणका काममा धुलो कम हुने उपाय अवम्बन गर्ने । त्यसो गर्ने सके बस्न योग्य वातावरण हुनेछ ।”

प्रतिकूल मौसमका कारण तीन दिनदेखि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फका उडान प्रभावित भएका छन् । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट दर्जनौँ उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । यही चैत १३ गते शुक्रबार मध्याहृनपछि काठमाडौँ उपत्यका लगायत आसपासका क्षेत्रको वायुमण्डल बाक्लो तुवाँलोले ढाकेपछि अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित बनेको थियो ।

विमानस्थलमा तीन दिनदेखि यान्त्रिक पद्धत्ति (आइएफआर) बाट मात्रै उडान भएको छ । बिहीबार करीब दुइ घण्टा उडान प्रभावित भएको थियो । अपराहृनपछि आइएफआर उडान खुलेको थियो । उक्त दिन आन्तरिकतर्फ २२ र अन्तर्राष्ट्रियतर्फ केही उडान स्थगित भएका थिए । शनिबार पनि अधिकांश उडान प्रभावित भए । धेरै एयरलाइन्सले मुख्य गन्तव्यका उडान रद्द गरेका थिए। आइतबार अन्तर्राष्ट्रियतर्फ उडान सामान्य छ ।

आन्तरिकतर्फ भने कतिपय गन्तव्यमा उडान हुन सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण -क्यान) का उपमहानिर्देशक राजकुमार क्षेत्रीले अन्तर्राष्ट्रिय उडान सञ्चालनमा रहे पनि आन्तरिक उडान सामान्य प्रभावित भएको जानकारी दिनुभयो । रात्रिकालीन उडानयोग्य नभएका सिमरा, भरतपुर र जनकपुरलगायत विमानस्थलको उडान भएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ हवाइसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएकामा अहिले कोभिड-१९ महामारीपछि १९ वायुसेवा कम्पनीले उडान सञ्चालन गरिरहेका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker