४५औं व्यास नगरसभा : छुवाछुतका पीडितको कानुनी उपचार नगरपालिकाले व्यहोर्ने
महिला र अपाङ्गता भएका व्यक्तिलाई घर नक्सा दस्तुरमा १० प्रतिशत छुट

दमौली : तनहुँको व्यास नगरपालिकाको ४५औँ नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. १ अर्ब ५५ करोड ३० लाख १ हजारको संशोधित बजेट, वार्षिक नीति तथा कार्यक्रम, आर्थिक तथा विनियोजन विधेयकसहित विभिन्न महत्त्वपूर्ण निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न नगरसभाले विकास निर्माणसँगै सामाजिक न्याय र समावेशितालाई प्राथमिकता दिने निर्णयहरू गरेको हो ।
नगरसभामा उपप्रमुख इन्दिरा दरैले प्रस्तुत गरेको संशोधित बजेटमाथि सदस्यहरूले छलफल गरी अनुमोदन गरेका थिए । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, वातावरण संरक्षण, सामाजिक सुरक्षा तथा सुशासनका कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ ।
नगरसभाले छुवाछुत मुक्त नगरपालिका घोषणालाई व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । नगर क्षेत्रभित्र जातीय छुवाछुत वा विभेदका घटना भएमा पीडितको तर्फबाट कानुनी उपचारका लागि आवश्यक खर्च नगरपालिकाले व्यहोर्ने ऐतिहासिक निर्णय गरिएको छ । सामाजिक विभेद अन्त्य गर्दै समानतामूलक समाज निर्माणमा यो निर्णय प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, महिला सशक्तीकरण र समावेशी विकासलाई प्रोत्साहन गर्न महिला तथा अपाङ्गता भएका व्यक्ति -क, ख र ग वर्ग) को नाममा घर नक्सा पास गर्दा लाग्ने दस्तुरमा १० प्रतिशत छुट दिने निर्णय पनि नगरसभाले गरेको छ। यसबाट महिला स्वामित्व विस्तार र अपाङ्गता भएका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको छ ।
नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि आर्थिक विधेयक–२०८३, विनियोजन विधेयक–२०८३, ऊर्जा विकास सम्बन्धी विधेयक लगायतका आवश्यक कानुनी प्रस्तावहरू पनि पारित गरेको छ ।
बैठकमा न्यायिक समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति, सुशासन तथा संस्थागत विकास समिति तथा विधायन समितिका प्रतिवेदन प्रस्तुत भई सर्वसम्मत रूपमा अनुमोदन गरिएका छन् । समितिहरूले आगामी वर्षका विकास प्राथमिकता, सेवा प्रवाह सुधार, विपद् व्यवस्थापन, वातावरण संरक्षण, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा संस्थागत सुदृढीकरणका विषयमा सुझाव दिएका थिए ।
नगरसभा सदस्यहरूले बजेट तथा कार्यक्रममाथि धारणा राख्दै विकास आयोजनाको प्रभावकारी कार्यान्वयन, पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, शिक्षा र स्वास्थ्य सेवाको विस्तार तथा स्थानीय आवश्यकताअनुसार योजना सञ्चालनमा जोड दिएका थिए ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने विकासलाई प्राथमिकता दिइने बताए । उनले समृद्ध, समावेशी र सुशासित व्यास नगरपालिका निर्माणका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
उपप्रमुख इन्दिरा दरैले बजेट कार्यान्वयनमा वित्तीय अनुशासन, पारदर्शिता र मितव्ययितालाई विशेष ध्यान दिइने बताउँदै नियमित अनुगमन र मूल्यांकनमार्फत विकासका कार्यक्रमलाई परिणाममुखी बनाइने जानकारी दिइन् ।
नगरसभाले पारित गरेको संशोधित बजेट, सामाजिक न्यायमुखी निर्णय, कर सहुलियत, विभिन्न विधेयक तथा विकासमुखी कार्यक्रमहरूले व्यास नगरपालिकाको समृद्धि यात्रालाई थप गति दिने विश्वास व्यक्त गरिएको छ ।










