नयाँ गठबन्धनको बलमा मात्रै बन्दैन सबै प्रदेशमा सरकार, कहा कुन दल निर्णायक ?

भानुभक्त आचार्य/काठमाडौं

केन्द्रमा अहिलेसम्म चार दलीय गठबन्धन बनेको छ । केही दल अझै थप हुनसक्ने नयाँ गठबन्धनका नेताहरूले दाबी गरिरहेका छन् । केन्द्रमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी मिल्दा बहुमत पुग्छ ।

तर, सातमध्ये पाँच प्रदेशमा चार दलको गठबन्धनको बहुमत पुग्ने देखिँदैन । कोशी र कर्णालीमा माओवादी र एमालेको संख्याले सरकार बनाउन काफी देखिए पनि अन्त सरकार बनाउन गठबन्धनले अन्य दलको साथ लिनैपर्ने बाध्यता छ । चार दलीय गठबन्धनमा रहेको रास्वपाको प्रदेशमा उपस्थिति नै छैन ।

कोशीको प्रदेशसभा ९३ जना सदस्य छन् । यहाँ सरकार गठन गर्न ४७ जना प्रदेश सांदस आवश्यक पर्छ । यस हिसाबले यहाँ एमाले र माओवादी केन्द्र मात्रैले पनि बहुमतको सरकार गठन गर्न सकिन्छ । कोशीमा एमालेका ४० र माओवादी केन्द्रका १३ सांसद छन् । नयाँ गठबन्धनको जसपाका यहाँ एक जनामात्रै सांसद छन् । कोशीमा अहिले कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन् ।

बागमतीमा हाल ११० जना प्रदेशसभा सदस्य छन् । जसमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ सीट छ । कांग्रेस अहिले प्रदेश सरकारमा छ । सरकार गठन गर्न बागमतीमा ५६ सांसद चाहिन्छ । यहाँ एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको सभामुखबाहेक १२ र नेकपा एसको ७ सीट छ ।

नयाँ गठबन्धनमा एकीकृत समाजवादी सहभागी भए यहाँ तीन दलको ५५ सीटमात्रै हुन्छ । सरकार बनाउन एक सीट पुर्‍याउन राप्रपा, नेमकिपा या हाम्रो नेपाली पार्टीमध्ये एकको साथ अनिवार्य आवश्यक देखिन्छ ।

अहिले माओवादी मुख्यमन्त्री रहेको बागमतीमा कांग्रेसले पनि सरकार बनाउन सक्ने अवस्था छ । ३७ सीट रहेको कांग्रेसले १२ सीट रहेको राप्रपा, ७ सीट रहेको एकीकृत समाजवादीलाई साथ लिएमा बहुमतको सरकार बनाउन सक्ने अर्को सम्भावना छ । यहाँ ३ सीट रहेको नेमकिपा र २ सीट रहेको हाम्रो नेपाली पार्टी पनि सरकार फेरबदलमा निर्णायक हुने देखिएका छन् ।

मधेश प्रदेशसभामा १०७ सांसद छन् । सरकार बनाउन बहुमत अर्थात् ५४ सांसद आवश्यक पर्छ । अहिले मुख्यमन्त्री रहेको जसपाका १९ सांसद छन् । मधेशको ठूलो दल नेकपा एमालेका २४ र माओवादीका ९ सांसद छन् । मधेशमा जनमतका १३, लोसपाका ९ र नेकपा एसका ७ सांसद छन् । यहाँ जनमत केन्द्रदेखि प्रदेश सरकारमा सहभागी नभए पनि साना दललाई मिलाएर एमाले, माओवादी र जसपाले सरकार बनाउन सक्छ ।

गण्डकीमा ६० प्रदेशसभा सदस्य हुँदा सरकार गठन गर्न ३१ जना आवश्यक पर्छ । यहाँ एमालेका २२ र माओवादीका ८ सांसदमात्रै छन् । त्यसैले नयाँ गठबन्धनको नेतृत्वमा सरकार बनाउन एक सीट अन्य दलबाट लिनुपर्नेछ । अहिले कांग्रेसको मुख्यमन्त्री रहेको गण्डकीमा राप्रपासँग २ र एकीकृत समाजवादीसँग १ सांसद छन् । गण्डकीमा माओवादी केन्द्रको सभामुख भएको हुँदा राप्रपा निर्णायक शक्ति देखिएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका ११ र जसपाका ४ सांसद छन् । प्रस्ट बहुमतका लागि कम्तीमा ४४ सांसद चाहिन्छ । यो अवस्थामा नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र र जसपाले थप एक सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । यहाँ नागरिक उन्मुक्ति पार्टीका चार, जनमत र लोसपा नेपालका तीनतीन सांसद छन् । यहाँ अहिले मुख्यमन्त्री रहेको नेपाली कांग्रेसका २९ सांसद छन् । यस्तै एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एकएक सांसद छन् । ४० सांसद रहेको कर्णालीमा सरकार बनाउन २१ सांसद आवश्यक पर्छ । यहाँ अहिले मुख्यमन्त्री रहेको माओवादीका १३ र एमालेका १० सांसदले नै सरकार गठन हुन्छ ।

सुदूरपश्चिम प्रदेशसभाका ५२ सांसदमध्ये बहुमत प्राप्त गर्न २७ जना आवश्यक पर्छ । यहाँ माओवादीका ११ र एमालेका १० सांसद मिल्दा बहुमत पुग्दैन । त्यसैले निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टी रहेको छ । नाउपासँग ७ सांसद छन् । अहिले मुख्यमन्त्री रहेको कांग्रेसका १९ जना सांसद छन् । नेपालप्रेसबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker