स्थानीय सरकारसंग जलवायू परिवर्तन नीतिबारे संवाद
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौलीमा जलवायू परिवर्तन नीतिबारे स्थानीय सरकारसंग संवाद कार्यक्रम गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले फिमिको सहयोगमा तीन दिने संवाद कार्यक्रम सञ्चालन गरेको हो ।
व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेसंग शुक्रबार तनहुँका भुजेल महिलाहरुले जलवायू परिवर्तन नीतिबारे संवाद र अन्तर्क्रिया गरेको महासंघकी पुर्व सचिव सावित्रा चेपाङले बताइन् ।
यस्तै शनिवार व्यास-१ का वडाअध्यक्ष रमेशचन्द्र हड्खलेसंग सो संवाद गरेको थियो । वडाअध्यक्ष हड्खलेले महिलाहरु आर्थिक रुपमा सबल हुनुपर्ने बताउँदै आर्थिक रुपमा सबल बन्नको लागि उद्यमी बन्नुपर्ने सुझाए ।
जलवायू परिवर्तनबाट पर्ने असरबाट जोगिन समुदाय जोडिएर एक हुनुपर्ने प्रशिक्षक एवं राष्ट्रिय मानव अधिकार आयोगका शाखा अधिकृत किरण बरामले बताए । स्थानीय सरकारले जलवायू परिवर्तन सम्बन्धमा के कस्तो नीति र कानुन बनाएको छ भन्ने जानकारी लिन यो संवाद कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।
जलवायू परिवर्तनका असर, न्युनिकरण र अनुकुलनका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने र सोही अनुरुप नीति निर्माण गर्नुपर्ने भुजेल महिला समाजकी केन्द्रीय अध्यक्ष बसुन्धारा घर्तीले बताईन । उनले जलवायू परिवर्तनको मुख्य असर आदिवासी जनजाति समुदायलाई परेको बताइन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी वरिष्ठ उपाध्यक्ष थम माया छन्त्यालको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको छ ।










