रित्तिएको गाउँलाई फेरि पुरानै स्वरुप दिने सङ्कल्प

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ तपरगाउँका युवा व्यवसायी दिपेन्द्र पौडेलले गाउँ फर्किएर रिसोर्ट सञ्चालन गर्नुभएको छ । दुलेगौडा बजारमा अफसेट प्रेस सञ्चालन गर्दै आउनुभएका पौडेलले गाउँ छाडेको १७ वर्षपछि पुनः गाउँ फर्किएर टपरी रिसोर्ट सञ्चालन गर्नुभएको हो ।

उजाडिएको गाउँमा सम्भावना देखेर पौडेलले रिसोर्टमा रु ५० लाख लगानी गरेको बताउनुभयो । पूर्वाधार थप गर्न बाँकी नै रहेकाले लगानी बढ्ने उहाँले जानकारी दिनुभयो । सुविधा खोज्दै सहर पस्दा गाउँ रित्तिएको र रित्तिएको गाउँलाई फेरि पुरानै स्वरुप दिने सङ्कल्प बोकेको पौडेलले बताउनुभयो ।

“बस्ती रित्तिएर गाउँघर उराठ लाग्ने भएको थियो, घरहरू भत्कँदै थिए । बारी बाझिएर जङ्गल बन्दैथ्यो”, उहाँले भन्नुभयो, “गाउँको सम्भवानालाई उजागर गर्न सक्नुपर्छ भनेर गाउँ फर्किएर रिसोर्ट सञ्चालन गरेको हुँ ।” युवाहरू सहर केन्द्रित हुने नभई गाउँमै सम्भावनाको खोजी गर्नुपर्ने पौडेलले बताउनुभयो ।

सहरको कोलाहल र धुवाँधुलोबाट मुक्त हुँदै आनन्द लिनका लागि रिसोर्ट उपयुक्त हुने विश्वास गरिएको छ । पृथ्वीराजमार्गस्थित शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा छ किमी दूरीमा रिसोर्ट पुग्न सकिन्छ । पौडेलले पुख्र्यौली पाँच रोपनी जग्गामा रिसोर्ट सञ्चालन गर्नुभएको छ । रिसोर्टमाा स्थानीय अग्र्यानिक उत्पादनलाई बढावा दिइने बताइएको छ । यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यले पर्यटकलाई लोभ्याउने पौडेलले बताउनुभयो ।

रिसोर्टको पूर्वाधार थपसँगै अब अग्र्यानिक उत्पादनमा जोड दिने पौडेलले बताउनुभयो । “त्यसका लागि २०० रोपनी जमिनमा अग्र्यानिक तरकारी खेती गर्ने तयारी गरेको छु, तरकारी खेतीका लागि अन्य दुई साथीसँग सहकार्यको तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।

पढाइ, जागिर र सुविधा खोज्दै सहर झर्नेको लर्कोले गाउँ रित्तिदै गएका बेला आफू गाउँ फर्किएको बताउँदै पौडेलले भन्नुभयो, “गाउँको एक दर्जन परिवारले थातथलोलाई चटक्कै माया मारेर सुविधा भएको ठाउँ रोजे । वर्षौँदेखि रित्तिएको गाउँका घर ढले, खेतबारी बाझिए । गाउँ छाड्ने लहर चलिरहेका बेला उकालो चढेर रित्तिएको बस्तीमा फर्कने चेष्टा गरेको छु”, उहाँले भन्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker