नयाँ वर्षमा बन्दीपुर : स्थानीय खानाका परिकार र संस्कृतिसंग झुमे पर्यटक
भञ्ज्याङन्यूज

पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा नयाँ वर्ष २०८१ का अवसरमा पर्यटक उपस्थिति उल्लेख्य रहेको छ । स्थानीय पर्यटन व्यवसायहीले आयोजना गरेको सडक खाना महोत्सवमा प्रस्तुत गरिएका विभिन्न साँस्कृतिक कार्यक्रममा पर्यटकहरुले भरपुर मनोरञ्जन लिएका छन् ।
नयाँ वर्षको अवसरमा बन्दीपुरमा शुक्रबारदेखि सडक खाना महोत्सव सञ्चालन गरिएको थियो। बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर इकाइ र रेबान तनहुँको संयुक्त आयोजनामा तीन दिने सडक खाना महोत्सव सञ्चालन गरिएको हो ।
नयाँ वर्षलाई जिल्लाभित्रै बसेर स्वागत गर्न र बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख लक्ष्यसहित आयोजित सडक खाना महोत्सवमा पर्यटकको आगमनले हामी पर्यटन व्यवसायीलाई उत्साहित बनाएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए ।
‘नयाँ वर्षको अवसरमा हामीले स्थानीय संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न समुदायको पहिचान झल्कने भेषभूषामा सजिएर साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थियौ । उक्त साँस्कृतिक कार्याक्रममा आन्तरिक तथा वाह्य पर्यटकहरुले भरपुर मनोरञ्जन लिनुभएको छ’, उनले भने, ‘खाना महोत्सवमा विशेष गरी बन्दीपुर गाउँपालिका भित्रै उत्पादन भएका खाद्यवस्तुलाई उपभोग गर्ने गरी व्यवस्था मिलाइएको हुँदा पर्यटकहरुले स्थानीय खानाका परिकारका साथै स्थानीय संस्कृतिमा रम्ने अवसर पाउनुभयो ।’

सडक खाना महोत्सवका अवसरमा विविध जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । मगर, नेवार, गुरुङ, ब्राम्हण लगायत अन्य जातजातिका सांस्कृतिक नाचलाई सडक खाना महोत्सवमा समावेश गरिदा स्थानीयपन झल्कनुका साथै स्थानीय कला संस्कृतिका प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुगेको नयाँ वर्ष मनाउन बन्दीपुर आएको विष्णुकान्त घिमिरेले बताए ।
आन्तरिक पर्यटकको अलवा बन्दीपुरमा विदेशी पर्यटकको पनि उत्तिकै भीड लागेको थियो । यहाँ विशेषगरी चिनियाँ पर्यटकको संख्या बढ्दै गएको छ । नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेको बन्दीपुरका पर्यटन व्यवसायी वैंश गुरुङ बताउँछन् ।
यस वर्ष बन्दीपुरमा २६ देशबाट पर्यटक आएको तथ्याङ्क छ । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको जनाइएको छ ।

बन्दीपुरमा आयोजना गरिएको सडक खाना महोत्सवले यहाँको पर्यटनमा टेवा मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । ‘बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ’, अध्यक्ष थापाले भने, ‘पर्यटकीय गन्तव्यबारे जानकारीहरू नेपाली, अंग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्चलगायतका भाषामा तयार पारिएको छ ।’
बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल -मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्म पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्कलगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक-फरक भाषामा तयार भएको छ ।
सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृंखला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने सबैको मन लोभिने गर्दछ ।

बन्दीपुरमा होटल संघसँग आबद्ध साना-ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ ।
यस्तै, गाउँपालिकाले स्थानीय स्तरमै रोजगारीको वातावरण सृजना गरी आर्थिक समृद्धिको आधार तयार गर्न कृषि, पशुपालन तथा उद्यमशिल विकासका कार्यक्रमलाई पर्यटनसंग जोड्दै अगाडि बढेको छ ।











