महिलाको नाममा लिखत : दुइ करोड बढी राजस्व छुट
भञ्ज्याङ समाचारदाता/दमौली

मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा महिलाको नाममा जग्गा पास गर्दा रु दुइ करोड ८८ लाख २३ हजार पाँच सय आठ राजस्व छुट भएको छ । मालपोत कार्यालयमा चार हजार २५७ महिलाको नाउँमा जग्गा नामसारी गर्दा उक्त राजस्व छुट भएको हो।
सहरी क्षेत्रका तीन हजार ११ र ग्रामीण क्षेत्रका एक हजार दुइ सय ४५ महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिने प्रावधानअनुरुप छुट पाएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले बताए ।
त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ग्रामीण र सहरी क्षेत्रका गरी दुइ सय २३ दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास भएको छ। दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास गर्दा रु ११ लाख २१ हजार दुइ सय ११ राजस्व छुट गरिएको उनले बताए ।
त्यसैगरी मालपोत कार्यालय तनहुँले आर्थिक वर्ष २०७८/७९ मा कूल रु ४३ करोड २७ लाख ६८ हजार सात सय ४४ राजस्व संकलन गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार राजिनामातर्फ रु २४ करोड ६५ लाख ४१ हजार नौ सय ५८, धितोतर्फ रु चार करोड ६१ लाख २५ हजार पाँच सय ३५, पुँजीगत लाभकरतर्फ रु १४ करोड एक लाख एक हजार दुइ हजार ५१ राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ ।
मालपोत कार्यालयबाट संकलन भएको राजस्वमध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय पालिकामा पठाइने मालपोत कार्यालय तनहुँका प्रमुख पौडेलले बताए ।










