मालेपाटनस्थित कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ (कास्की) : पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री गर्नेको सङ्ख्या घट्दै गएको छ । पहिला गाउँका २८ परिवारले कोठेलगायत बाँसका सामग्री बुनेर बिक्री गर्न गाउँगाउँ पु¥याउथे भने अहिले त्यो सङ्ख्या घटेर पाँचमा सीमित बनेको हो ।

“बाँसका चोयाबाट कोठो बुन्ने भएकाले पोखरा–३२ को मालेपाटनस्थित सुनार गाउँलाई परापूर्वकालदेखि कोठेगाउँ भन्ने गरिन्थ्यो, तर युवा शिक्षा, रोजगारीका कारण बाहिर जाने तथा वैकल्पिक पेसा अवलम्बन गर्न थालेपछि गाउँमा बाँसका सामग्री बुन्नेको सङ्ख्या २८ बाट पाँचमा झरेको छ, ती पनि उमेर कटेकाहरू मात्र छन्”, स्थानीय ६३ वर्षीय गोपाल सुनारले भन्नुभयो ।

उहाँका अनुसार कोठेगाउँका बेरोजगार युवा पनि यो पेसामा आउन मान्दैनन् । “बरु विदेशको खाडीमा पुगेर काम गर्न तयार छन् तर यो पेसा गर्दैनन् । अहिलेका केटाकेटीलाई बाँसको काम गर्न लाज लाग्छ अरे”, उहाँले भन्नुभयो ।

चोयाबाट कोठो, कोक्रो, भकारी, डोका, नाङ्लो बुनेर मासिक रु ३० हजार आम्दानी हुने गोपालले जानकारी दिनुभयो । “पहिलेको जस्तो चोयाका सामग्री बिक्रीका लागि बजार खोज्दै जानु पनि पर्दैन, अहिले घरमै आएर व्यापारीले लैजान्छन् । सीप जानेपछि त्यसले जीवनभर आम्दानीको स्रोत सुनिश्चित गरिरहन्छ”, उहाँले भन्नुभयो ।

विसं २०२७ मा गुल्मीबाट आएर पोखरा–३२ को मालेपाटनमा बसेका २८ सुनार परिवारको मुख्य पेसा चोयाका सामग्री बुन्ने र गाउँगाउँमा लगेर बिक्री गर्ने थियो । विशेषगरी कोदो राख्नका लागि प्रयोग हुने कोठो बढी बुन्ने गरिने भएकाले गाउँको नामाकरण नै कोठेगाउँ रहेको गोपालको भनाइ छ ।

आगामी १० वर्षपछि कोठेगाउँमा यो पेसा लोप हुने अवस्थामा पुगेको भन्दै गोपालले दुखेसो गर्नुभयो । “यवा बुन्दैनन्, बुढाहरू मरेर जान्छन्, अनि गाउँको पहिचान नै मेटिन्छ । एक–दुई जना युवाले यो पेसालाई निरन्तरता हो भने पनि गाउँको पहिचान रहने थियो कि ?”, उहाँले प्रश्न गर्नुभयो ।

मानिसको जन्मदेखि मरणसम्म बाँस र बाँसबाट बनेका सामग्रीको प्रयोग हुने भएकाले यो पेसाको संरक्षण र पुस्तान्तरणमा सरोकार भएका निकाय लाग्नुपर्नेमा गोपालले जोड दिनुभयो । ससाना घरायसी सामग्रीदेखि ठूलाठूला होटल रेस्टुरेन्टसम्म बाँसबाट बनेका सामग्री प्रयोग हुन्छन् । तर, हामीले त्यसको महत्व नबुझ्दा पछि परेका छौँ”, उहाँले भन्नुभयो, “युवाहरूलाई यो पेसामा आकर्षण गर्नका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको व्यापार मेलामा मैले कोठो बुनिरहेको छु ।”

घरेलु उपयोगदेखि फर्निचर, खाद्य सामग्री, व्यापारिक प्रयोजन, पशुआहाराका रूपमा पनि बाँसका सामग्री प्रयोग गरिँदै आइएको छ । साथै भू–क्षय तथा बाढी,पहिरो नियन्त्रणमा पनि यसले सहयोग पु¥याउने कृषिविज्ञ बेनीबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार बाँस ग्रामीण कृषक तथा विपन्न समुदायको आयआर्जनको महत्वपूर्ण स्रोत बनिरहेको छ ।

नेपालमा १२ जातिअन्तर्गत ५३ भन्दा बढी प्रजातिका बाँस पाइने कृषिविज्ञ बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार यीमध्ये सात प्रजातिका बाँस संसारमा कतै नपाइने रैथाने (इन्डेमिक) प्रजातिका छन् । “नेपालमा दुई जातिअन्तर्गत १० प्रजातिका बेतहरू पाइन्छ । बेत पनि बाँस प्रजातिम पर्ने विज्ञहरू बताउछन्”, उहाँले भन्नुभयो ।

नेपालका तराईदेखि पहाडी क्षेत्रमा बाँस पाइन्छ । तराईको सबैभन्दा होचो भाग झापा जिल्लाको कचनकवल क्षेत्रदेखि चार हजार मिटर उचाइसम्म बाँस पाइने कृषिविज्ञ बस्नेतले जानकारी दिनुभयो ।

नेपालमा बाँसको टुसा खानेदेखि बाँसका ह्यान्डीग्राफका रूपमा समेत प्रयोग हुन्छ । बाँसका टुसा अचार, तरकारीका रूपमा खाने गरिन्छ । “बाँसबाट एक हजार ५०० प्रकारका वस्तु बनाउन सकिन्छ”, बस्नेतले भन्नुभयो, “डोको, नाम्लो, सुपो (नाङ्लो), टेबल, कुर्सीलगायत विभिन्न सामग्री बनाउन सकिन्छ ।” बाँसबाट निर्मित हस्तकला, फर्निचर र घरायसी सामग्रीको माग स्वदेश तथा विदेशमा बढिरहे पनि पर्याप्त ज्ञान र सीपको कमीले व्यावसायिक खेती प्रणालीको विकास हुन नसकेको उहाँको भनाइ छ ।

बाँसको आन्तरिक बजार अनुमानित एक अर्ब बराबर रहेको जनाउँदै कृषिविज्ञ बस्नेतले छिमेकी मुलुक चीन र भारतसँग समन्वय गरी सरकारले व्यावसायिक बाँसखेतीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

“यहाँ खपत हुने बाँसका कच्चा सामग्रीका लागि नेपाल आत्मनिर्भर छ । तर, बेत सामग्री भारत र बङ्गलादेशबाट आयात हुन्छ । बाँसका सामग्री आयात र निर्यातमा नेपालले व्यापार घाटा व्यहोर्नु परिरहेको छ”, उहाँले भन्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker