आकर्षक गन्तव्य बन्दै बन्दिपुरको मिनी ग्रेटवाल
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा निर्माणाधिन मिनी ग्रेटवाल पर्यटकको आकर्षक गन्तव्य बन्न थालेको छ । वडा नं २ स्थित थानीमाई मन्दिरबाट सुरु भई मुकुन्देश्वरीदेखि भञ्ज्याङ चौतारी बाघस्थलसम्मको ‘मिनी ग्रेटवाल’ निर्माण कार्य सम्पन्न भएको छ । चीनको जस्तै झझल्को दिने गरी निर्माण गरिएको मिनी ग्रेटवाल निर्माण कार्यमा हालसम्म ७४ लाख रुपैयाँ खर्च भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ ।
बन्दिपुर गाउँपालिका कार्यालयले एक करोड रुपैयाँ खर्च गरी थालिएको मिनी ग्रेटवाल पर्यटकको पहिलो आर्कषण बन्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । बन्दिपुर आउने अधिकांश आन्तरिक तथा वाह्यपर्यटक अहिले यहाँ पुग्ने गरेको उनले बताए ।
प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दिपुरमा करिब दुइ किलोमिटर दूरीको ‘मिनी ग्रेटवाल’ निर्माण गर्न लागिएको हो । सात करोड रुपैयाँ लागत अनुमान रहेकाले बहुवर्षीय कार्यक्रम अन्तर्गत योजनाअनुरुप निर्माण कार्य अघि बढाइएको उनले बताए । संघीय सरकारको चार करोड ५५ लाख रुपैयाँ र बन्दिपुर गाउँपालिकाको दुइ करोड ४५ लाख रुपैयाँ साझेदारी रहेको गाउँपालिकाले जनाएको छ ।
उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायत संरचना निर्माण गर्ने योजना छ । दुइतिर वाल लगाउने र बीचमा आकर्षक सिँढी निर्माण गरी दायाँबायाँ आकर्षण बत्ती जडान गर्ने योजना रहेको छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको किंवदन्ती रहेको पाइन्छ । मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने छ ।
काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई केन्द्रको पनि केन्द्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । कोभिड-१९ को महामारीको समयपछि बन्दिपुरमा पर्यटकको आगमनमा वृद्धि गर्न सकिने छ । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दिपुर पग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृंखला, पहाड र टाकुरा हेर्न सकिन्छ ।










