छोरी बलात्कार गर्ने बाबु पक्राउ
मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् ।
धादिङको धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए ।
त्यसैक्रममा १७ वर्षीय छोरीमाथि पटकपटक जबरजस्ती करणी गरी भएको पीडित नाबालिकाको जाहेरी उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी बताउनुभयो ।पटकपटक जबरजस्ती करणीबाट अहिले नाबालिकाको गर्भमा पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ ।
धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको हो । पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो ।
घटना धादिङ जिल्लामा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतले आज तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिनुभयो । रासस










