रुरु भैरव दल गणमा १०४ र कालीभञ्जन गणबाट ९१ सिपाही दिक्षित

तनहुँ : नेपाली सेनाको रुरु भैरव दल गणबाट १०४ जना दिक्षित भएका छन् । ९ महिने महिने सैन्य तालिम प्राप्त गरिसकेपछि भानु–१ हात्तीचौरमा रहेको रुरु भैरव दल गणमा सैन्यबाट सिपाहीमा प्रवेश गरेका हुन् ।
पश्चिम पृतना हेडक्वाटरका महासेनानी सरोज कुमार अधिकारीले दिक्षित बनेका सिपाहीहरुलाई शुशोभित एवं सपथ ग्रहण गराएका थिए । उनले माटोले माग्दैन, आफैंले दिनु पर्छ भन्ने उद्घोषका साथ पेशा प्रति वफादार, अनुशाशित, कर्तब्यनिष्ठ बन्न र आफ्नो क्षमता, कार्यकौशलता देखाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी, उप–प्रमुख उमा गोतामे, भानु नगरपालिकाका र बन्दिपुर गाउँपालिकाका वडाअध्यक्षहरु, पदिक तथा सकल दर्जा, र दिक्षित भएका परिवारका सदस्यहरुको सहभागिता रहेको रुरु भैरव दल गणका गणपति प्रमुख सेनानी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
यस्तै, तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) बाट ९१ जनाले नौ महिने सैन्य तालिम लिएपश्चात् गणबाट सिपाही दिक्षित भएका छन् । पश्चिम पृतना हेडक्वाटरका चिफ अफ स्टाफ सहायकरथी अर्जुन खड्काले सिपाहीहरुलाई शुशोभित एवं शपथग्रहण गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहायकरथी खड्काले नेपाली सेना बलियो भए राष्ट्र बलियो हुने बताउँदै सेनामा प्रवेश गरेका सिपाहीहरुलाई सेनाको मर्यादाभित्र रहेर देश र जनताको निस्वार्थ सेवामा तल्लिन हुन निर्देशन दिए ।
उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतको सहभागिता रहेको गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी गराए ।










