पृथ्वीराजमार्ग बिस्तार : सडकको मध्यविन्दु परिवर्तन भएको भन्दै बेलचौतराका बासिन्दले गुहारे जनप्रतिनिधि
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

पृथ्वीराजमार्ग अन्तरे्गत मुग्लिन-पोखरा खण्डको स्तरोन्नती तथा विस्तार कार्य अगाडि बढेको छ । गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको यो राजमार्गको मुग्लिन-पोखरा खण्डलाई दुइ भागमा विभाजन गरी अहिले सडकको स्तरोन्नती र विस्तार कार्यलाई तीब्रता दिइएको छ ।
राजमार्गको पश्चिम खण्ड (जामुने-पोखरा) अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाको वेलचौतरा-दुलेगौंडा खण्डमा सडकको मध्यविन्दु परिवर्तन भएको भन्दै सडक स्थानीय बासिन्दाले जनप्रतिनिधिलाई गुहारेका छन् ।
राजमार्गको पहिलेको सेन्टर लाइन परिवर्तन हुँदा एकातर्फका घरहरु धेरै भत्कने अर्कोतर्फ धेरै जमिन बाँकी रहने अवस्था सृजना भएको भन्दै बुधवार यस खण्डका बासिन्दाले शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधिलाई सम्बन्धित निकायको ध्यानकर्षण गराउन माग गरेका छन् ।
दुलेगौडा र बेलचातौराका स्थानीयहरु पूर्व निर्धारित मापदण्ड स्वीकार गर्ने र खानेपानी, विद्युतका पोल लगायतका विषय देखाएर संरचना मास्न तयार नहुने भन्दै नगरपालिका पुगेका थिए । उनीहरुले नगर प्रमुख कृष्णराज पण्डित समक्ष पूर्व निर्धारित मापदण्ड अनुसार सडक विस्तारको काम अगाडी बढाउन निर्माण पक्षलाई निर्देशन दिन आग्रह गरे ।
स्थानीयहरुको प्रतिनिधित्व गर्दै नगरपालिका पुगेका मोतीप्रसाद पौडेलले सडकको पूर्व निर्धारित मध्यविन्दुको वेवास्ता गरी काम गर्दा स्थानीय मर्कामा परेको गुनासो गरे । ‘सेन्टर पोइन्ट भन्दा दायाँ बायाँ भएर काम भएको छ, एकातिरकालाई मर्का पर्ने अर्का तिरकालाई फाईदा हुने देखियो’, उनले भने, ‘विद्युत पोल, तार, बर्खायाममा नालाको पानी व्यवस्थापन गर्ने विषयमा नगरपालिकाले चासो दिनुपर्यो।’
स्थानीय प्रकाश थापाले ७५ फुट कायम गरिएता पनि नापि एकनास नभएको गुनासो गरे । ‘कसैका आँगनसम्म नापिएको छ, कसैका घरभित्र माण्दण्ड पगेको छ’, उनले भने, ‘मिडपोइन्ट कहाँ हो- कहाँबाट नाप्ने- एकिन नहुँदा स्थानीयलाई समस्या भयो ।’
वडा नं. ४ को गल्छिना क्षेत्रमा आइपुग्दा पश्चिमतर्फ घरभित्र मार्किङ गरेको छ । पूर्वतर्फ १५० फिटमा दुइ मिटर छोडिएको स्थानीय बताएका छन् । सडक विभागले पहिलै स्थानीयसँग सल्लाह गरेर सडक स्तरोन्नती गर्दा ब्लु प्रिन्ट हेरेरै सेण्टर लाइन निक्र्यौल गरौंला भनेको थियो । त्यस बेला तपाईको घर जादैन भनेको थियो तर अहिले एक्कासी घर भित्र आएर मार्किङ गरेको स्थानीयले गुनासो गरे ।
दुलेगौंडा खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष गजेन्द्र प्रसाद पौडेलले सडकको काम तीब्र रुपमा अघि बढाउँदा हालसम्म खानेपानीको पाएप कहाँ राख्ने भन्नेबारे निक्र्यौल नहुँदा समस्या आएको बताए । आयोजनाले कुनै जानकारी विना एक्कासी घरभित्र आएर मार्किङ गरेकोमा आपत्ती जनाउँदै उनले खानेपानी समितिले घर भत्काएर खानेपानी पाएप गाड्न सक्ने अवस्था नरहेको हुँदा यो विषयमा वडा र नगरले समन्वय गरिदिनुपर्ने बताए ।
स्थानीयको गुनासोलाई नगरपालिबाट सम्बोधन गर्न सहजिकरण गरिदिन वडा नं. ४ का वडा अध्यक्ष राज कुमार वाग्ले, वडा नं. ५ का वडा अध्यक्ष दीर्घ बहादुर थापा, वडा नंं. ६ का वडा अध्यक्ष बुद्धि बहादुर थापा, वडा नंं ७ का वडा अध्यक्ष खड्क सिंह थापा मगर लगायतले नगर प्रमुखलाई एक्सनमा जान सुझाव दिए ।
यस्तै, नगरपालिका पुगेका दुलेगौडाका नारायण कुमार श्रेष्ठ, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, सुर्यबहादुर बानियाँ लगायतले नगरपालिकाले पूर्व निर्धारित मध्यविन्दु पत्ता लगाएर सोही आधारमा काम अगाडी बढाउन भूमिका खेल्नुपर्ने सुझाए । पूर्वाधारका लागि छोडेको ८२ फुटको मापदण्ड भित्र सडक खानेपानी, लगायतलाई सिमित गर्न समेत स्थानीयले माग गरेका छन् ।
स्थानीयको माग सुनुवाई गर्दै नगर प्रमुख कृष्णराज पण्डितले आयोजना निर्माण पक्षलाई नागरिकको समस्या जानकारी गराउने प्रतिवद्धता व्यक्त गरे । उनले निर्माण पक्षले डिजाईन नै परिवर्तन गर्नुपर्ने गरी विरोध नगर्न स्थानीयलाई आग्रह समेत गरे । उनले भने, ‘हामीले स-साना विषय देखाएर विरोध गर्दा काम समयमा नहुने समस्या हुन सक्छ, हामी दुइ सिफ्टमा काम गराएर भएपनि छिटो सम्पन्न गरेर वर्तमानको समस्या समाधान गर्न लागेका छौँ ।’
नगरपालिकाका सहरी पूर्वकार विकास शाखा प्रमुख इ. तारापति भट्टराइले स्थानीय नागरिकहरुलाई सडक निर्माणको मापदण्ड र डिजाईन सहितको बन्ने संरचनाका बारेमा जानकारी गराएका थिए ।
चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले यो खण्ड निर्माणको जिम्मा लिइएको छ । पश्चिम खण्ड (जामुने-पोखरा ४५ किमि) पछिल्ला केही दिन यता कामको गति बढाइएको छ । ठेक्का सम्झौता अनुसार यो खण्डको समय अबधि करिब नौ महिना बाँकी रहदा जम्मा १४ प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षले बेलचौतारा क्षेत्रबाट सडक कालोपत्रे शुरु गर्न बेस बिछ्याउने कार्य अगाडि बढाएपनि विद्युत पोल स्थानतरण नगरिदिंदा काममा अवरोध सृजना हुने गरेको छ ।
२०७८ भदौदेखि काम सुरु गरिएको यो खण्डको २०८१ भदौ १२ मा सक्नुपर्ने सम्झौतामा छ । मुग्लिन-पोखराको दूरी ९३ किमि छ । जसमा आँबुखैरेनी-पोखराको लम्बाइ ८६.६ किमि छ । आँबुखैरेनी-जामुने (४१.४५ किमि) पूर्वी खण्ड र जामुने-पोखरा (४५ किमि) पश्चिम गरी दुइ खण्डमा छुट्याएको छ । चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड रुपैयाँमा पश्चिम खण्ड जामुने-पोखरा सडक निर्माणको जिम्मा लिएको हो । यस्तै ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लागतमा अर्को चिनियाँ कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सनलेनै आँबुखैरनी-जामुने पूर्वी खण्डको सडक निर्माणको जिम्मा लिएको छ ।
स्तरोन्नतिपछि सडकको पश्चिम खण्ड अन्तर्गत पोखरा, दुलेगौंडासहित मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको बनाइनेछ । पश्चिम खण्डको सडक स्तरोन्नति गर्न चिनियाँ कामदार ५० जना र नेपाली कामदार ४२५ जना खटिएका छन् । निर्माण कम्पनीले एक्स्काभेटर ४०, लोडर १०, ग्रेडर छ वटा र पानीको ट्यांकर ८ वटा परिचालन गरेको छ । आयोजनाका इन्जिनियर नारायण पौडेलले निर्माण कम्पनीलाई कामको गति बढाउन महिना दिनको लक्ष्य दिइएको छ । उनले भने, ‘फेब्रुअरी भित्र पाँच किलोमिटर सडक कालोपत्र गर्ने तयारी भएको छ ।’










