खहरेटारमा साँस्कृतिक कार्यक्रमसंगै भलिबल प्रतियोगिता

दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारमा तमु ल्होसार पर्वको अवसरमा विविध साँस्कृतिक कार्यक्रम गरिएको छ । उक्त कार्यक्रमलाई व्यास नगरपालिकाका संस्थापक मेयर ताराप्रसाद श्रेष्ठले शुभारम्भ गर्दै युवाहरूलाई संस्कृतिको संरक्षणको जिम्मेवारीमा अगाडि बढाउनुपर्ने बताएका छन् ।
मिलिजुली युवा क्लबले तमु ल्होसारको अवसरमा आयोजना गरेको सांस्कृति एवं वडास्तरीय पुरुष भलिबल प्रतियोगिता कार्यक्रममा उनले युवाहरूको सक्रिय योगदानले हाम्रो संस्कृतिको संरक्षण गर्नमा ठूलो भूमिका खेल्नुपर्ने बताए ।
ल्होसार जस्ता चाडपर्वहरूले हाम्रो संस्कृतिको धरोहरलाई जीवित राख्न मद्दत गर्ने बताउँदै उनले यी पर्वहरूले हामीलाई हाम्रो परम्परागत मूल्य र संस्कृतिको महत्व सम्झाउँने हुँदा युवाहरूले संरक्षणमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा मगर संघ जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष खड्का बहादुर मगर, आदिवासी जनजाति युवा महासंघ गण्डकी प्रदेशका अध्यक्ष एचबी मगर लगायतका वक्ताहरुले तमु ल्होसारको सांस्कृतिक र सामाजिक पक्षमा आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमका अवसरमा दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा अस्पतालका डा. सञ्जय अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी प्रकाश रेग्मी, निर्मला श्रेष्ठ लगायत ले करिब १५० जनालाई स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
क्लवले आयोजना गरेको भलिबल प्रतियोगिता मंगलबारदेखि सञ्चालन गरिने भएको छ । उक्त प्रतियोगितामा ३२ टिमले नाम दर्ता गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ, द्धितीयलाई ६० हजार रुपैयाँ, तृतीयलाई ४० हजार रुपैयाँ र सान्तवनालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कार्यक्रमका संयोजक सिद्धान्त गर्जा मगरले जानकारी गराए ।










