घरमा बत्ती बलेपछि घिरिङका गलकोट र भाटडाँडाका बासिन्दामा खुसियाली

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको घिरिङ गाउँपालिका-४ गलकोट र घिरिङ गाउँपालिका-५ भाटडाँडाका बासिन्दामा अहिले खुसियाली छाएको छ । दशैं पर्वसंगै घरघरमा बिजुली बत्ती बलेपछि स्थानीयवासीमा खुसियाली छाएको हो । सोलार र टुकीको भरमा बस्दै आएका यहाँका बासिन्दा दशै शुरु भएसँगै बिजुली बलेपछि हर्षित भएका छन् ।
घिरिङ गाउँपालिकाले ‘उज्यालो गाउँपालिका’ बनाउने लक्ष्यका साथ काम गरेपछि बिजुली नपुगेका ग्रामीण बस्तीमा धमाधम विद्युत् विस्तार भइरहेको छ । सोही अभियान अर्न्तर्गत गलकोट र भाटडाँडाका ४५ घरधुरीमा बत्ती बलेको छ । घिरिङ गाउँपालिका-४ गलकोटकी श्रीमाया थापाले दशैं आएसँगै घरमा बत्ती बलेपछि खुशी लागेको बताइन् । ‘दशैंको चहलपहल शुरु भएसँगै रौनक छाएका बेला बत्ती बलेपछि गाउँ नै उज्यालो भएको छ”, उनले भनिन्, ‘वर्षौदेखिको चाहना बल्ल पूरा भयो ।’
स्थानीयवासी दीपक थापाले विगत लामो समयदेखि बिजुलीको आशमा बसेका स्थानीयवासीको मुहारमा खुशी छाएको बताए । ‘बत्ती कहिले बल्ला भनेर लामो समय कुर्यौँ तर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै गाउँपालिकामा विद्युतीकरण अभियानले तीव्रता पायो’, उनले बताए । स्थानीयवासी पूर्णबहादुर थापा, आनबहादुर थापा, हिरासिं थापाले पनि बत्ती बलेपछि खुशीको सीमा नै नरहेको बताए ।
घिरिङ विद्युतीकरण उपभोक्ता समितिमार्फत गत हप्ता नै घिरिङ गाउँपालिका-२ स्थित गजरकोटको ३५ घरमा बिजुली बलेको थियो । बिजुलीको सुविधा नपुगेका घरमा विद्युतीकरण अभियान तीव्ररुपमा चलिरहेको उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका करिब ६/७ सय घरमा मात्रै अब बत्ती बल्न बाँकी रहेको र ती घरमा पनि कात्तिकसम्ममा बिजुली पुर्याइने थापाले बताए ।
उनका अनुसार नेवार हटिया, कटहरे, हात्तीडाँडा, भन्टार, गडयौली, नयाँटार, जगौली लगायतका ठाउँमा बिजुली विस्तार गर्न बाँकी छ । उपभोक्ता समितिले गाउँपालिकाको अत्रौली, पुट्टार, माहोरकोट लगायतका ठाउँमा एक महिनाको अवधिमा बिजुली विस्तार गरिसकेको छ । “कोरोना कहरकै बीचमा पनि विद्युतीकरणको अभियानलाई सञ्चालन गर्र्यौं, वर्षौदेखिको जनताको चाहना पूरा हुने क्रममा छ”, थापाले बताए ।
घिरिङ गाउँपालिकाले यहाँका ग्रामीण बस्तीमा धमाधम विद्युत् विस्तार कार्यलाई तीव्रता दिइरहेको गाउँपालिकाका अध्यक्ष रनबहादुर थापाले बताए । गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पुर्याउने प्रतिबद्धता लगभग सकिने क्रममा रहेको उनले बताए ।










