१०८ फिट व्यासमूर्ति निर्माणकार्यको मुख्यमन्त्री पोखरेलद्वारा शिलान्यास

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार जनताको आवश्यकातालाई पुरा गर्ने गरी काम गरेको बताएका छन् । तनहुँको दमौलीमा मंगलबार १०८ फिट व्यासमूर्ति निर्माण कार्यको शिलान्यास कार्यक्रममा सहभागि भएका उनले प्रदेश सरकार जनतासंग, जनताको भावनासंग जोडिएको बताए । ‘विशेष राजनीतिक घटना क्रमका कारण हामी सरकारमा आएको र हामी विभिन्न राजनीतिक दलको संयुक्त गठबन्धनबाट सरकार सञ्चालनमा रहेको हुँदा जनताको भावना र चाहना अनुसार अगाडि बढ्ने प्रयास गरेका छौ’, मुख्यमन्त्री पोखरेलले भने, ‘सरकारमा आएको लामो समय नभएको र कोरोना कहरका कारण सोचे र चाहे जस्तो काम गर्न नसकेपनि जनताको भावनालाई बुझेर प्रदेश सरकारले काम अगाडि बढाएको छ ।’

‘प्रदेश सरकारले सिमित श्रोत साधानका बीच पनि राष्ट्रिय र प्रदेश गौरवका योजनाहरुलाई निरन्तरता दिइएको छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘स्वास्थ्य, शिक्षा, सडक लगायतका नियमित विकास निर्माणका कामसंगै महिलाको स्वास्थ्य, वृद्धवृद्धा, कोरोनाबाट अभिभावक गुमाएका बालबालिकाको क्षेत्रमा समेत विशेष कार्यक्रम सञ्चालन गरिएको छ ।’

यस्तै, गण्डकी प्रदेश धार्मिक पर्यटनमा धनि रहेको चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशलाई समृद्ध प्रदेश बनाउने अभियानमा लाग्न सबैसंग आग्रह गरेका छन् । ‘प्रदेशको विकासको खम्ब धार्मिक पर्यटन हो’, उनले भने, ‘प्रदेश सरकारले गर्नुपर्ने काम नागरिक समाजबाट भएको र यसमा प्रदेश सरकारको पनि साथ र सहयोग रहने छ ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले व्यासमूर्ति निर्माणको कामले धेरै ठूलो आशा जगाएको बताउँदै व्यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउन सबै क्षेत्र लागिपर्नुपर्ने बताए । चार वेद अठार पूराणका रचयिता वेदव्यासको जन्मभूमि दमौलीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यसहित १०८ फिटको व्यासमूर्ति निर्माण कार्य सुरु गरिएको हो । पहिलो चरणमा पाँच करोड ५० लाख ५५ हजार ६४० रुपैयाँको लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम हुने व्यास क्षेत्र शिव पञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए ।
चर्चा भएको त धेरै वर्ष भयो, जे होस् अब मूर्ति निर्माणको कामको प्रारम्भ भएको छ, बजेट अभाव रहेपनि संघ र प्रदेश सरकारसँगको सहकार्यमा मूर्ति निर्माण सम्पन्न हुने अपेक्षा लिएको उनले बताए । पहिलो चरणमा मूर्ति अड्याउन स्तम्भ निर्माणका लागि नगरपालिकाले ठेक्का आहृवान गरेको थियो । नगरपालिकाले एक वर्षभित्र सम्पन्न गर्ने गरी गौरी पार्वती, देव एण्ड सयर/ऋषिशक्ति जेभीसँग सम्झौता गरेको छ । मूर्ति निर्माणका लागि व्यास नगरपालिकाको प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साझेदारी गरेको छ । त्यसका लागि मन्त्रालयले चार करोड ५५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयमार्फत पनि कोषलाई चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । उक्त रकमबाट पूर्वतर्फको प्रवेशद्वार र देउरालीनगरतर्फबाट आउने बाटो निर्माणको काम गरिनेछ । मन्त्रालयबाटै गत वर्ष प्राप्त दश लाख रुपैयाँको लागतमा मुख्य प्रवेशद्वारको केही काम गरिएको छ ।

व्यासमूर्ति सहितका संरचना निर्माणका लागि ७१ करोड दुइ लाख दश हजार ८८९ रुपैयाँ रकम आवश्यक पर्दछ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार ९९३ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम संकलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब ७० लाख रुपैयाँ संकलन भएको थियो । उक्त रकममध्ये दश लाख रुपैयाँको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ ।

व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र संग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ । गुरुयोजना अनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गाड घर, कोसेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैंचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ ।

यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ । करिब पाँच हजार ५०० वर्ष अगाडि व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि आठ किमी पूर्व छाब्दीबाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिमपट्टकिो कुण्डमा व्यासकी माता सत्यवतीको जन्मभएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ ।

मुख्यमन्त्री पोखरेलले मंगलबार दमौलीमा निर्माण गर्न लागिएको मोडल भेटेरिनरी अस्पतालको भवन शिलान्यास तथा दमौली अस्पताल गोवर्धन शर्मा मेमोरियल आखा उपचार एवं अनुसन्धान केन्द्र भवन निर्माणको शिलान्यास तथा सेवाको उद्घाटन समेत गरेका थिए ।

उक्त आँखा उपचार केन्द्र मुख्यमन्त्री पोखरेलका बुबाको सम्झनामा स्थापना गरिएको हो । आँखा अस्पताल स्थापनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो । आँखा उपचार केन्द्रमा उच्च प्रविधियुक्त उपकरण थप गरी आँखाको उपचार सेवा प्रदान गरिने अस्पतालका प्रमुख डा सुनिल पौडेलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker