तनहुँ जलविद्युत आयोजना तोकिएकै समयमा सम्पन्न गर्न एडिबी तथा प्राधिकरणको उच्चस्तरीय टोलीको निर्देशन

भञ्ज्याङन्युज

एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ ।

एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध, भूमिगत विद्युतगृह, मुख्य सुरुङलगायतका संरचनहरुको निर्माण कार्यको अनुगमन गरेको हो ।

टोलीले आयोजनाको प्याकेज-१ (बाँध तथा हेडवर्क्स), दोस्रो प्याकेज-२ (विद्युतगृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरु) र तेस्रो प्याकेज (दमौली-भरतपुर २२० केभी प्रसारण लाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदाताहरुसँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्यालगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो ।

निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र (MAY 2026) सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको सहुलितपूर्ण ऋण प्रवाह गरेको एडिबीको नेपाल आवासीय नियोग निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नु पर्ने बताउनुभयो । ‘मुख्य रुपमा प्याकेज-१को निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकोले निर्माण विधिमा ध्यान दिई उपकरण तथा जनशक्ति थप गर्नु पर्ने आवश्यकता देखिन्छ’, उहाँले भन्नुभयो । प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लि.का अध्यक्ष घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकोले सोही लक्ष्यलाई पूरा गर्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

‘बाँध निर्माणका लागि नदी फर्काउने तथा स्लोप कटान चुनौतीपूर्ण देखिन्छ, यसका लागि दक्ष जनशक्ति र उपकणहरु थप गरी कामलाई त्रि्रताकासाथ अगाडि बढाउनु पर्छ, आयोजनकातर्फबाट गर्नु पर्ने सहयोग र सहजीकरणमा हामी सँधै तयार छौं ।’ तनहुँ हाइड्रोपावर लि.का प्रबन्ध-सञ्चालक किरण कुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराउनु भएको थियो ।

आयोजनाको प्याकेज-१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जे. भी.ले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुइ वटा डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्यहरु भइरहेका छन् । ५३८.५ मिटर लम्बाइको डाइभर्सन सुरुङ-१ र ६२२.५ मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ-२को वारपार गरी (ब्रेक थ्रु) कंक्रिट लाइनिङको काम भइरहेको छ ।

प्योकेज-२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युतगृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कार्यहरु गरिरहेको छ । विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्ज ट्याङ निर्माण कार्य जारी रहेको छ । १४५६ मिटर मुख्य सुरुङमध्ये ७९० मिटर खन्ने कार्य सम्पन्न भएको छ ।

प्याकेज-३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । प्रसारण लाइनका ९४ वटा टावरमध्ये ५१ वटा टावरको जग हालिएको छ । साथै, ३२ वटा टावर जडान कार्य, ०.९८८३ कि.मि. तार तान्ने र ८ वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुइ स्थानमा संरक्षण कार्य र ६ स्थानमा जग हाल्ने कार्य भइरहेका छन् ।

आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker