कोरोना कहरको चपेटामा पर्यो व्यापार व्यवसाय : चाडबाडमा पनि व्यापार छैन
- भञ्ज्याङ समाचारदाता (दमौली)
कोभिड-१९ संक्रमण त्रासकै बीच करिब सात महिना पछि तनहुँका व्यवसायीहरुले आफ्ना व्यापार व्यवसाय खुल्ला गर्दै लगे। ठूला चाडपर्वहरु नजिकिएसंगै लकडाउनले दिएको पीडालाई भुल्दै व्यापार हुन्छ कि भन्ने आशमा व्यवसाय त खुल्ला गरे तर सोचे जस्तो छैन ।
कोरोनाको चपेटामा परेका कारण मुलुकका सबै क्षेत्र प्रभावित छन्। लकडाउन खुलेसंगै जनजीवन पुरानै लयमा फर्काउने प्रयास गरिएपनि कोरोनाको त्रास कायम नै छ । संक्रमण त्रासकै बीच सरकारले लामो तथा छोटो दुरीका सार्वजनिक यातायाता खुल्ला गर्यो। यातायात सञ्चालनमा आएसंगै ग्रामीण र शहरी क्षेत्रमा मानिसहरुको आवत जावत पनि बढ्यो । तर, बजार क्षेत्रमा भने व्यापार नभएको व्यवसायीहरुको गुनासो बढेको छ ।
चाडवाड नजिकिएपनि बजारमा मनिसको चहलपहल कम हुँदा व्यापार व्यवसाय सहज रुपमा हुन सकेको छैन । लकडाउन खुलेपनि समुदायमा संक्रमण फैलिएसंगै मानिसहरु घरबाहिरा हिड्डुल गर्न नखोज्दा व्यापार हुन नसकेको व्यास नगरपालिका-२ डाङ्ग्रेखोल्सीका फेन्सी व्यवसायी सुरज श्रेष्ठ बताउँछन् । उनले भने, ‘नेपालीहरुको महान पर्व विजय दशमी नजिकिदै छ। पोहोर यही समयमा बजारका रोड पनि भिडभाड हुने गर्दथ्यो । अहिले भने सबै सुनसान छ ।’
‘व्यापारको सिजनमा पनि बेसिजन जसरी पसलमा बसिरहनु बाहेक केही काम भएको छैन’, उनले भने, ‘पसलमा झुन्डाइएका कपडाहरु पनि घाम र रोडको धुलोले ब्रि्रेला भन्ने लागिसक्यो। एकादुइ ग्राहकहरु आउनुहुन्छ तर चाडबाडको बेला जति व्यापार हुनुपर्ने थियो त्यो भने छैन ।’
यस्तै, अघिल्लो आर्थिक वर्षको दशैमा भएको व्यापारको ३० प्रतिशत पनि अहिले व्यापार नभएको व्यास-२ न्युरोडका फेन्सी व्यवसायी सागर क्षेत्री बताउँछन् । उनले भने, ‘पहिलेको दशैमा त पसलमा ग्राहकहरु पनि अटाइनअटाइ थिए । अहिले भने दिनभरि पसल खाली हुन्छ ।’
बजार क्षेत्रमा कोठा भाँडामा लिएर फेन्सी व्यवसायी सञ्चालन गरेको तर व्यापार नहुँदा सटर भाडा तिर्न पनि धौ-धौ भएको उनले बताए । ‘लकडाउन अवधिमा १ महिनाको सटरभाडा छुट भयो’, उनले भने, ‘बाँकी महिनाको भाडा आफ्नै खोल्तीबाट तिरेको छु । पसल गर्न छाडिदिउ भने हाल अन्य व्यवसाय झट्टा आँट गर्न गाह्रै छ । पछिका दिनमा केही सहज होला भन्ने आशमा ऋणधन गरी भाडा तिरेर बसिएको छ । तर, मुख्य सिजनमा पनि सुनसान भएको छ।’
यस्तै, कोरोनाको त्रासका कारण ग्रामीण क्षेत्रबाट मानिसको आवतजावत कम हुँदा व्यापार शुन्य जस्तै भएको व्यास-२ डाङ्ग्रेखोल्सी स्थित बाराही टि-सर्टका प्रोप्राइटर मोहन पाठक बताउँछन् । उनले भने, ‘प्रायः ग्रामीण क्षेत्रका मानिसलाई लक्षित गरी पसल सञ्चालन गरिएको र उनीहरुकै आवतजावत कम हुँदा हामीलाई मर्क परेको हो।’
‘र्सार्वजनिक यातायात सञ्चालन भएपनि कोरोनाको त्रास उत्तिकै छ’, उनले भने, ‘पछिल्लो समय झन् समुदायस्तरमै कोरोना पोजेटिभ देखिन थालेपछि मानिसहरु घरबहिरा हिड्न नै डराउन थालेका छन् । सडकमा मानिसहरु भिडभाड गरेर हिडेको त देखिन्छ तर, उनिहरु सहजै पसल भित्र पस्न सकेका छैनन् ।’
व्यासमा मात्रै होइन जिल्लाका अन्य ९ वटै स्थानीय तहका बजार क्षेत्रमा व्यापार यतिबेला सुनसान छ । लामो समयको लकडाउनमा घाँटा खेपेका व्यवसायीहरु चाडबाडको समयमा पनि व्यापार नहुँदा चिन्तित बनेका छन्। पहिलेका वर्ष विभिन्न टोल, समिति मिलेर व्यापार व्यवसाय प्रवर्द्धन गर्न तथा ग्राहकलाई पसलमा आकर्षित गर्न दशै उपहार, चिट्टाको व्यवस्था गरेका थिए । अहिले कोरोनाको कारण मानिसको चहलपहल कम, पसलमा पनि कमै जाने र सामान पनि कमै किन्ने हुँदा कुनै पनि उपहार र चिट्टाको व्यवस्थापन गरिएको छैन।
कुपन, उपहार, चिट्टा पसलमा ग्राहक तान्ने एउटा माध्यम बनेको व्यास-१ कि पुजा थापा बताउँछिन्। उनले भनिन्, ‘पहिलेका वर्षमा उपहार, चिट्टामा केही पर्छ कि भनेर थोरै सामान किन्न गएका व्यक्तिले पनि धेरै सामान किनेर आउने गर्दथे । कोरोनाको त्रासका कारण बजारमा मानिसको आउजाउ कम भएको भएर होला अहिले यस्ता कुपनको व्यवस्थापन छैन ।’










