भानुमा शिक्षक मेन्टरिङ् सम्बन्धी एकदिवसीय अभिमुखीकरण

भानु : तनहुँको भानु नगरपालिकाको आयोजनामा शिक्षक मेन्टरिङ् सम्बन्धी एकदिवसीय सरोकारवालाको अभिमुखीकरण गोष्ठी आज मिति २०८२ पौष ७ गते सम्पन्न भएको छ । गोष्ठीमा भानु नगरपालिकाभित्र आधारभूत तहमा कार्यरत नवप्रवेशी शिक्षक, सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षक मेन्टरहरूको सहभागिता रहेको थियो ।
संघीय सशर्त कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त अभिमुखीकरणको उद्देश्य नवप्रवेशी शिक्षकहरूलाई पेशागत सहयोग प्रदान गर्दै दक्ष बनाउने र अन्ततः शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु रहेको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए । गोष्ठीको सहजीकरण शिक्षक मेन्टर (प्रशिक्षक) ज्ञानेन्द्र पण्डितले गरेका थिए ।
मेन्टरिङ् कार्यक्रमअन्तर्गत मेन्टरले मेन्टी शिक्षकलाई पेशागत सहयोग, कक्षा अवलोकन, छलफल, पृष्ठपोषण, आवश्यकता अनुसार नमूना पाठ प्रदर्शन, शिक्षक सञ्जाल निर्माण, निर्णय तथा मार्गदर्शन गर्ने व्यवस्था गरिएको छ। यसका लागि अलग्गै मोबाइल एप विकास गरिएको छ, जसमा मेन्टरले गरेका गतिविधि अपडेट गरेसँगै केन्द्रमा प्रतिवेदन जाने व्यवस्था रहेको छ ।
कार्यक्रमको अवधि छ महिनाको रहने र यस अवधिमा प्रत्येक मेन्टरले एकजना मेन्टी शिक्षकका ११ वटा कक्षा अवलोकन गर्नुपर्ने व्यवस्था गरिएको छ। आजै भानु नगरपालिकामा कार्यरत ६ जना मेन्टरहरू ज्ञानेन्द्र पण्डित, हिरामणी ढुङ्गाना, गोविन्दप्रसाद भट्टराई, उपेन्द्र विष्ट, रिदय भट्ट र सन्तोष खड्काले कार्य विभाजन गर्दै आधारभूत तहका २९ जना शिक्षकलाई मेन्टरिङ् गर्ने कार्ययोजना निर्माण गरेका छन्। भानु नगरपालिकामा यो कार्यक्रम सोमबारदेखिनै कार्यान्वयनमा आएको जनाइएको छ ।










