आयुर्वेद चिकित्सालयमा उपचार गराउनेको चाप : पञ्चकर्म र फिजियोथेरापी सेवामा आकर्षण

दमौली : चिसो मौसम सुरु भएसँगै बाथरोग, पक्षघात (प्यारालाइसिस) तथा हड्डी खिइने समस्याको उपचार गराउन प्रदेश आयुर्वेद चिकित्सालय आउने सेवाग्राहीको संख्या बढ्न थालेको छ । चिकित्सालयले पञ्चकर्म र फिजियोथेरापीमार्फत उपचार सेवा प्रदान गर्दै आएको छ ।
चिकित्सालयमा पञ्चकर्म अन्तर्गत स्नेहन, स्वेदन, शिरोधारा तथा बस्तीकर्मलगायतका सेवा उपलब्ध छन् । त्यस्तै, शारीरिक दुखाइ, मांसपेशी तथा स्नायुसम्बन्धी समस्या र शारीरिक चलायमानतामा कठिनाइ भएका बिरामीलाई लक्षित गरी फिजियोथेरापी सेवा पनि सञ्चालनमा रहेको छ ।
चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंका अनुसार दैनिक महिला तथा पुरुष गरी करिब ४० जनाले पञ्चकर्म अन्तर्गतका विभिन्न सेवा लिइरहेका छन् । फिजियोथेरापी सेवामार्फत दैनिक २० देखि ३० जनासम्मलाई उपचार गर्न सकिने क्षमता रहेको उनले जानकारी दिए ।
चिसो मौसममा बाथरोग, पक्षघात तथा हड्डी खिइनेजस्ता समस्या भएका बिरामी उपचारका लागि बढी आउने गरेको चापागाईंले बताए । नियमित उपचार सेवा लिन आउने सेवाग्राहीको आकर्षण बढ्दै गएको र उपचारपछि बिरामीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भएको अनुभव सुनाउने गरेको उनले उल्लेख गरे ।
चिकित्सालयले पञ्चकर्म र फिजियोथेरापी सेवालाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ । पञ्चकर्मअन्तर्गतका विभिन्न विधि बिरामीको स्वास्थ्य अवस्था र आवश्यकताअनुसार प्रयोग गरिन्छ । स्नेहनमा शरीरमा तेल वा औषधिजन्य पदार्थको प्रयोग गरिन्छ भने स्वेदनमा उपयुक्त विधिबाट शरीरलाई स्वेदित गरिन्छ । शिरोधारामा निधारमा निश्चित प्रक्रियाअनुसार औषधिजन्य तरल पदार्थको धारा प्रवाह गरिन्छ । बस्तीकर्म पनि आयुर्वेदको पञ्चकर्म अन्तर्गत पर्ने उपचार विधि हो ।
चिकित्सालयमा नश्यकर्म सेवा लिइरहेका पूर्ण विकले उपचार सुरु गरेपछि नाकसम्बन्धी समस्यामा क्रमिक सुधार आएको बताए । चिसो मौसममा भएको सङ्क्रमणपछि नाकमा समस्या देखिएपछि आफू नश्यकर्म सेवा लिन चिकित्सालय आउन थालेको उनले जानकारी दिए। सेवा लिन थालेपछि समस्या कम हुँदै गएको उनको अनुभव छ ।
चिकित्सालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा नौ हजार पाँच सय पाँच जनाले पूर्वकर्म तथा पञ्चकर्म सेवा लिएका थिए । सोही अवधिमा दुई हजार २४० जनाले फिजियोथेरापी सेवा लिएका थिए भने ९७ जनाले शिरोधारा सेवा प्राप्त गरेका थिए ।
पञ्चकर्म तथा फिजियोथेरापी सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दै जानुले आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको चासो विस्तार हुँदै गएको देखिन्छ । चिकित्सालयले उपलब्ध गराउँदै आएका सेवाको प्रभावकारी सञ्चालन, जनशक्ति व्यवस्थापन र उपचार सुविधाको विस्तार गर्न सके थप सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker