व्यवस्थित सहर विकासका लागि तनहुँमा एकीकरण आयोजना, २२ दशमलब ८ प्रतिशत भौतिक प्रगति

दमौली : व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन गरेको जग्गा एकीकरण आयोजनामा २२ दशमलब ८ प्रतिशत भौतिक प्रगति भएको छ ।

व्यास नगरपालिका–१० बैरेनीमा सञ्चालित जग्गा एकीकरण आयोजनामा चैत मसान्तसम्म उक्त प्रगति भएको हो । त्यस्तै आयोजनामा २५ प्रतिशत आर्थिक प्रगति भएको व्यास नगरपालिकाका इञ्जिनियर रवीन्द्रलाल मूलले जानकारी दिनुभयो । व्यास नगरपालिकाले रु नौ करोड २४ लाख ७० हजार १८ लागतमा जग्गा एकीकरणको काम सुरु गरेको छ ।

प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा रिटेनिङ वाल निर्माणका लागि रु ५९ लाख ९० हजार ७८१ मा ठेक्का लागेको थियो । उक्त ठेक्काको जिम्मा विश्वास एण्ड बिपु कन्स्ट्रक्सन जोरपाटीले पाएको थियो । त्यस्तै दोस्रो चरणमा सडक, ढल तथा अन्य संरचना निर्माणका लागि रु आठ करोड ६४ लाख ७९ हजार दुई सय ३७ मा ठेक्का लागेको थियो । उक्त ठेक्का एचआरभी शिवदेव जेभी धुलिखेलले पाएको छ ।

आयोजनाअन्तर्गत आठ मिटर चौडाइ भएको सडक ४२२ मिटर, सात मिटर चौडाइ भएको सडक एक हजार २१५ मिटर, छ मिटर चौडाइ भएको सडक दुई हजार दुई सय २० मिटर र चार मिटर चौडाइ भएको सडक तीन सय ३४ मिटर निर्माण गरिने इन्जिनियर मूलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाको क्षेत्रको ढललाई सुरक्षित तबरले व्यवस्थापन गर्न आयोजनाको बीचमा धाप क्षेत्रमा ठूलो ढल निकास नाली तथा आवश्यकताअनुसार सडक छेउमा सानो ढल नालीको निर्माण गरिनेछ ।

यहाँ विद्युत् पोलको निर्माण गरिने तथा प्रसारणलाइनका लागि सहरी विकास तथा भवन निर्माण विभागको वित्तीय सहयोग र विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको समन्वयमा निर्माण गरिनेछ ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन सकिएपछि जग्गा एकीकरण आयोजना सुरु गरिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार प्रथम चरणमा २६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गर्नका लागि मस्यौदा योजना तयार गरी सहरी विकास मन्त्रालयमा पेस गरिएकामा विसं २०७८ फागुन २ गते सरकारबाट स्वीकृत भएको थियो ।

नगरपालिकाले आयोजना निर्माणका लागि गत वर्षको मङ्सिर १५ गते नगर विकास कोषसँग ऋण सम्झौता गरेको थियो । सम्झौताअनुसार नगर विकास कोषले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम बेहोर्नेछन् ।

जग्गा एकीकरण आयोजनाका लागि एक लाख ३२ हजार आठ सय १४ वर्ग मिटर (२६१ रोपनी) क्षेत्रफल छुट्याइएको छ । जग्गा एकीकरण आयोजनामा दुई सय ३१ लाभग्राहीका ३४७ कित्ता समावेश गरिएको मूलले बताउनुभयो । प्रत्येक जग्गाधनीहरुले गर्नुपर्ने योगदानको विस्तृत योगदान तालिका तथा चक्लाबन्दी नक्सासमेत तयार भइ स्वीकृत भइसकेको उहाँले बताउनुभयो ।

आगामी दिनमा जगाको चार किल्ला सीमाङ्कन गरी आयोजनाका सम्बन्धित जग्गाधनीहरुलाई अस्थायी जग्गाधनी प्रमाणपूर्जासहित जग्गा फिर्ता गरिनेछ । त्यसपश्चात पूर्वाधार निर्माणका लागि आरक्षित घडेरी बिक्री गरी विभिन्न चरणमा नगर विकास कोषलाई ऋण रकम भुक्तानी गरिने मूलले बताउनुभयो ।

व्यास नगरपालिका–१० (साविक फराकचौर वडा नम्बर ८ (घ) र (ङ)) का अन्तर्गतका जग्गामा आयोजना सञ्चालन गरिनेछ । पश्चिमतर्फ मादी नदीले कटान गरी बनेको डिल फराकचौर ८ ङ (३) फराकचौर ८ घ (२, १२०६, १२०५) देखि भित्रका कित्ताहरु आयोजनामा समावेश गरिएका छन् ।

वैरेनी जग्गा एकीकरण आयोजनाअन्तर्गत एक हजार पाँच सय ३६ रोपनी सम्भाव्यता अध्ययन गरिएको थियो । व्यास नगरपालिकाको व्यवस्थित सहरीकरणको अभियानमा यो स्वीकृति कोशेढुङ्गा हुने नगरपालिकाको दाबी छ ।

व्यास नगरपालिकाका प्रमुख न्यौपानेले व्यवस्थित सहर विकासका लागि जग्गा एकीकरण आयोजनाले सहयोग पुग्ने बताउनुभयो । व्यास नगरपालिकामा बढ्दो जनघनत्वलाई मध्यनजर गरी नगर विकास कोषसँगको ऋण जग्गा एकीकरण आयोजना सुरु गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker