घिरिङको कृषि नीति : कृषकलाई उत्पादन प्रतिफलमा आधारित अनुदान
भञ्ज्याङ समाचारदाता/घिरिङ

तनहुँको घिरिङ गाउँपालिकाले उत्पादन प्रतिफलमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषि तथा पशुपालनलाई मुख्य आर्थिक उपार्जनको मध्यम बनाई अगाडि बढ्ने गरी नीति तथा कार्यक्रम ल्याएको छ ।
विदेशबाट फर्किएर रोजगार गुमाएका युवा तथा बेरोजगार युवाहरूलाई लक्षित गरी कृषि तथा पशुपालन पेशामा आकर्षण गर्न उत्पादन प्रतिफलमा आधारित अनुदान सहितको कार्यक्रम सञ्चालन गर्ने नीति ल्याइएको गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले बताए ।
‘किसान सुचिकरण कार्यलाई निरन्तरता दिई कृषकहरूको तथ्याङ्क अध्यावधिक गर्ने कार्यलाई प्राथमिकताको साथ अगाडि बढाउँछौं’, उनले भने, ‘कृषि तथा पशुपंक्षीको व्यवसायिकरणको लागि साना तथा मझौला कृषि तथा पशुपन्छी फर्म स्थापना गरी सञ्चालन गर्न प्रोत्साहन गर्दै त्यस्ता फर्महरू पालिकामा दर्ता गर्न प्रेरित गर्ने नीति ल्याएका छौं ।’

कृषिलाई यान्त्रिकरण, आधुनिककीकरण तथा व्यवसायिकरण गर्दै निर्वाहमूखी कृषिलाई उत्पादनमुखी तथा निर्यात उन्मुख बनाउन गाउँपालिका भित्रका मुख्य बाली उत्पादन क्षेत्रको पहिचानका आधारमा कृषि पर्यटनमा आधारित अर्गानिक कृषि उत्पादन क्षेत्र, तरकारी, धान, दलहन, तेलहन, मौरीपालन, बेमौसमी तरकारी खेती तथा कृषि पकेट क्षेत्र कार्यक्रम सञ्चालन जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ गाउँपालिकाले अगाडि बढाउने भएको छ ।
‘कृषि तथा पशुपालन व्यवसायिलाई आय आर्जन तथा रोजगारीको प्रमुख आधारका रूपमा विकास गर्दै कृषि उत्पादनको बजारीकरण र भण्डारणका लागि नीजि तथा सहकारी संस्थाहरूसँगको साझेदारीमा कृषि उपज संकलन केन्द्र स्थापना साथै अत्रौली शीत भण्डार निर्माण कार्यको पुर्णता गरी संकलन गर्ने नीति लिएका छौ’, अध्यक्ष थापाले भने, फलफूल तथा तरकारीको उत्पादन वृद्धि, मौरी चरन तथा पर्यवरणमा हरियाली बनाउनका लागि साथै कृषकहरूलाई प्रेरणा जगाउन गाउँपालिकामा नमूनाको रूपमा मौरी, फलफूल तथा तरकारीको खेती गर्ने, खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने बालीको पहिचान गरी साना व्यवसायिक कृषि उत्पादन पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्ने, लागत घटाइ उत्पादन बढाउन खाद्यान्न बालीमा उन्नत बिउ उपयोगमा बढोत्तरी गर्न किसानहरूलाई प्रोत्साहन गर्नेछौ ।’

यस्तै, परम्परागत तथा रैथाने बाली तथा पशुपन्छीहरूको संरक्षण साथै प्रवर्द्धन कार्यमा जोड दिने, धान, मकै, कोदो तथा गहुँको बीउ उत्पादनका कार्यक्रम संचालन गरी गाउँपालिकालाई खाद्यन्नवालीको बीउमा आत्मानिर्भर बनाउँदै लग्ने, कृषकहरूको क्षमता विकास तथा नयाँ प्रविधको बारेमा जानकारी दिन विभिन्न किसिमको तालिम, अन्तरक्रिया, गोष्ठी, दिवस, प्रदर्शनी र अध्ययन अवलोकन जस्ता कार्यहरू सञ्चालन गर्ने, कृषक पाठशालालाई निरन्तरता दिने, धान, गहुँ र मकै जस्ता अन्नबाली एवं विभिन्न नगदे बालीहरूको उन्नत विउ एवं कृषियन्त्र वितरण लगायतका कार्यक्रमहरू प्रथमिकताका साथ अगाडि बढाउने नीति गाउँपालिकाले अवलम्बन गरेको छ ।
कृषिजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि एक गाउँ एक उत्पादनको अवधारणालाई प्रोत्साहन गर्ने नीति लिइएको गाउँपालिकाले कृषि संकलन केन्द्र, कृषि थोक बजार निर्माण, हाट बजार संचालन तथा व्यवस्थापन गर्ने, कृषि तथा पशुपन्छी विकास सेवा शाखामा कार्यरत कर्मचारीहरूलाई स्थलगत रूपमा खटाइ कृषकहरूलाई परामर्श दिने, तरकारी तथा फलफूलमा (सुन्तलाजात, अदुवा, लसुन, प्याज, बेसार) गाउँपालिकालाई आत्मनिर्भर बनाउन अनुदानका कार्यक्रम संचालन गर्ने नीति लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले जानकारी गराए ।

‘बढ्दो विषादी प्रयोगबाट मानव तथा पर्यावरणमा परेको नकारात्मक असर न्यूनिकरण गर्न विषादी सचतेनाका कार्यक्रम संचालन गरी प्राङ्गारिक कृषि तर्फ जोड दिने नीति लिइएको छ’, उनले भने, ‘माटोमा भएको अम्लियपना, क्षारीयपना तथा माटोमा रहेको पोषक तत्वहरूको मात्रा पत्ता लगाउन माटो उपचार शिविर सञ्चालन गर्ने, स्थलगतरूपमा देखा परेका विभिन्न रोग तथा किराहरूको समस्या पत्ता लगाइ त्यसको समाधान गर्नका लागि घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम प्राथमिकतामा राखिएको छ ।’
पशुपक्षी व्यवसायमा आत्मानिर्भर बनाउनका लागि नश्ल सुधार कार्यक्रम, बाझोपन निवारण घुम्ती शिविर, पशुपक्षी, निःशुल्क खोप कार्यक्रम संचालन, व्यवसायिक रूपमा गाई भैंसीपालनमा प्रोत्साहन गर्न र बजारको सुनिश्चित गरी दुध संकलन केन्द्र निर्माण र दुधजन्य पदार्थको विविधिकरण गर्न व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने जस्ता कार्यक्रम प्राथमिकतामा रहेको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी गराए ।

पशुपालनलाई प्रवर्द्धन गरी विशेषत बाख्राको स्रोतकेन्द्रको रूपमा विकास गर्न विशेष कार्यक्रम सञ्चालन गरिनुका साथै पशुपन्छी सेवा कार्यक्रमलाई सहयोग गर्न पशु चिकित्सक सेवा उपलब्ध गराउने, पशुपक्षीमा लाग्ने रोगलाई समयमा नै पहिचान गरी क्षतीलाई न्यूनीकरण गर्न रोगको अन्वेषण, नमूना संकलन तथा प्रेषण गर्ने, विकासका सहयोगी संस्थाहरूसँग साझेदारी गरी कृषि तथा पशु विकास कार्यक्रमहरूलाई प्रवर्द्धन गर्ने नीति गाउँपालिकाले लिइएको छ ।
यस्तै, अति गरिब, विपन्न, स्रोत विहिन परिवारहरूको पहिचान गरी आय आर्जनका लागि विभिन्न जातका पशुपंछीहरू विऊ पूजीका रुपमा वितरण गर्ने, गाउँपालिका भित्रका किसानलाई पशुपक्षी तथा वाली सम्बन्धी दक्ष बनाउन तालिम अध्ययन भ्रमण गराउने, संघ र प्रदेशसँगको सहकार्यमा कृषकलाई बाली र पशुपक्षी बिमा गर्नका लागि प्रोत्साहित जस्ता कार्यक्रम गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।











