एमाले अध्यक्ष ओली पोखरामा : जसपाका ४ केन्द्रीय सदस्यसहित सयौंलाई एमालेमा प्रवेश गराइदै
भञ्ज्याङ न्यूज

एमाले अध्यक्ष केपी शर्मा ओली पोखरा आइपुगेका छन् । गण्डकी प्रवेश कमिटीले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन आज ओली पोखरा आइपुगेका हुन् ।
पोखरा सभागृहमा हुने कार्यक्रममा उनी सहभागी हुँदैछन् । त्यहाँ विभिन्न पार्टीबाट एमालेमा नेता कार्यकर्ता प्रवेश गर्ने कार्यक्रम छ । जनता समाजवादी पार्टीका ४ जना केन्द्रीय सदस्य र प्रभावशाली नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन् ।
एमाले स्रोतका अनुसार जसपाका केन्द्रीय सदस्य एवं गण्डकी इन्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इन्चार्ज देवीराज गुरुङ, केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ र केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश समितिका उपाध्यक्ष दीपक तामाङको नेतृत्वमा सयौं नेता, कार्यकर्ता एमाले प्रवेश गर्दैछन् ।
सोही कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राप्रपा लगायत पार्टी परित्याग गरेका सयौंजनालाई एमाले अध्यक्ष केपी ओलीले पार्टी सदस्यता प्रदान गर्ने कार्यक्रम रहेको एमाले गण्डकी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
गण्डकी प्रदेशमा प्रभाव पार्न सक्ने नेताहरु पार्टी प्रवेश गर्ने भएकाले काठमाडौंको व्यस्त कार्यतालिकालाई स्थगित गरी ओली पोखरा आएका हुन् ।










