जनतासामु गरेका प्रतिवद्धता भुल्ने छैन : गण्डकी प्रदेश सांसद महत
भञ्ज्याङ न्यूज

गण्डकी प्रदेशसभा सदस्य नवनिर्वाचित सांसद श्यामराजा महतले जनतासामु गरेको प्रतिवद्धता नभुलेको र योजनावद्ध रुपमा काम गर्ने विश्वास दिलाएका छन् ।
तनहुँ निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा १ बाट निर्वाचित भएपछि जनताको घरदैलोमा मतदातालाई धन्यावाद दिन व्यास-५ चिन्तुटारमा आयोजित सभामा बोल्दै नेकपा एमालेले बनाएको चुनावी घोषणापत्र अनुसार आफु जनताको काम गर्न अहोरात्र खट्टनिे प्रतिवद्धता जनाएका छन् ।
‘जनताको आवश्यकता पुरा गर्ने जिम्मेवारी दिनुभएको छ’, उनले भने, ‘जनताको आधारभुत आवश्यकतामा मेरो जोड हुनेछ । विगतमा कसले के गरे भन्ने भन्दा पनि मैले के गर्नुपर्दछ भन्ने भावना म मा छ । यसका लागि तपाईहरुको साथ र समर्थन आवश्यक छ ।’
‘म जनताको समस्या समाधान गर्दछु भनेर नै तपाईहरुसँग भोट माग्न आए, तपाईहरुले जुन विश्वास गरेर जिताउनुभयो’, उनले भने, ‘तपाईहरुको साथले म निर्वाचित भएको छु । तपाईहरु प्रति म आभारी छु, अब तपाईहरुले दिएको जिम्मेवारी वहन गर्ने समय आएको छ । त्यो म पुरा गर्नेछु ।’

चिन्तुटारवासीको मुख्य माग भनेको पुल हो, यसका लागि प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता जनाउँदै सांसद महतले भने, ‘जनताको न्युनतम आवश्यकता, शिक्षा, स्वास्थ्य र मोटरपुल हो । जनताको पिर मर्का र आवश्यकातालाई पहिचान गरी त्यो पुरा गर्न म लागि पर्नेछु ।’
फरक प्रसंगमा महतले आफु योगी भएको र सधै जनताको घरदैलोमा आउने बताए । उनले भने, ‘जनता नै मेरा मुख्य आधार हुन् । त्यसबाहेक केही स्वार्थ छैन ।’
बाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेको नेकपा (माओवादी केन्द्र) राजेन्द्रकेशरी न्यौपानलाई पराजित गर्दै महत निर्वाचित भएका हुन् ।










