पारदर्शी र सुशासन कायम गराउन तनहुँको शुक्लागण्डकीमा “पारदर्शी भित्तो”
भञ्ज्याङ न्यूज

सेवा प्रवाह सञ्चालन केन्द्र सञ्चालन गरी नमुना बनेको तनहुँको शुक्लागण्डकी नगरपालिकाले पारदर्शी भित्तो सञ्चालनमा ल्याएको छ । सेवा केन्द्रको सफलतासंगै नगरपालिकाले पारदर्शी र सुशासन कायम गराउन पारदर्शी भित्तो खडा गरेको हो ।
नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको एक सय दिनको समयावधि पुरा भएको अवसरमा नगरपालिकाले पारदर्शी भित्तो सञ्चालनमा ल्याएको हो ।
पारदर्शी भित्तोको शुभारम्भ गर्दै नगरप्रमुख कृष्णराज पण्डितले नगरपालिकाले गर्ने कार्य भनेको खुला किताब रहेको बताए । उनले नगरका हरेक गतिविधि जनताले थाहा पाउनुपर्छ भन्ने हेतुले पारदर्शी भित्ता सञ्चालनमा ल्याएको बताए ।
‘हामीले गर्ने कार्यहरु खुला किताब हुन् । यहाँ लुकाउने, ढाट्ने, छल्ने कुरा हुँदैन’, नगरप्रमुख पण्डितले भने, ‘आम नागरिकले स्पष्ट रुपमा नगरपालिकाले के गरेको छ, के छ योजना, भावि योजना के छन्, नीति र निर्णयहरु के भएका छन् भनेर स्पष्ट थाहा पाउन सहज हुने वातावरण सिर्जना गर्न पारदर्शी भित्तो सञ्चालनमा ल्याएका हौं ।’
यस्तै, नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुले निवेदन दिएपछि मात्रै सुचना प्रदान गर्ने परिपाटीको अन्त्य गराउने लक्ष्यका साथ पारदर्शी भित्तो सञ्चालनमा ल्याएको जानकारी गराए ।
‘सरकारले गरेको काम नागरिकले थाहा पाउन अधिकार छ । हालसम्म सामान्य जानकारी लिन पनि निवेदन दिनुपर्ने अवस्था छ’, उनले भने, ‘हाम्रो उद्देश्य शुक्लागण्डकी नगरपालिकाले निवेदन दिएर सुचना दिने परिपाटीलाई अन्त्य गर्दै नगरपालिकामा भईरहेका जानकारी नागरिक सामु पारदर्शी ढंगले पुर्याउन यो कार्यक्रम प्रभावकारी बन्नेछ ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला बल्लभ न्यौपानेले भुइ तहका नागरिकलाई सुचना प्रदान गर्न पारदर्शी भित्तो उपयोगि बन्ने विश्वास व्यक्त गरे।
पारदर्शी भित्तोले नागरिक र स्थानीय सरकार विचमा सुमधुर सम्बन्ध कायम गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै उनले भने, ‘परदर्शी भित्तो सञ्चालनमा ल्याउनुको प्रमुख उद्देश्य सुशासन हो । सुशासन कायम गर्न प्रमुख उपकरण पारदर्शीता र सुचनाको हक सम्बन्धी व्यवस्थाको कार्यनव्यन हो ।’
उक्त पारदर्शी भित्तोमा नगरपालिकामा हुने दैनिक सुचना/ कार्यक्रम, मासिक आयव्य विवरण, अन्य वैठकका निर्णयहरु, लेखापरीक्षण्को प्रतिवेदन, नगर सभा/कार्यपालिकाको बैठकका निर्णयहरु र विविध सुचनाहरु जनतालाई सहज रुपमा जानकारी गराउन र पारदर्शीता कायम गराउन प्रकाशित गरिने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए ।
यस्तै, नगरपालिकाले सेवाग्राहीको सुविधाको लागि सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना गरी सेवा प्रवाह गर्दै आएको छ । सेवा लिन विभिन्न शाखामा जानुपर्ने र कर्मचारीलाई बुझाउन झन्झट हुँदा समस्या खेप्दै आएका सेवाग्राहीको अब कर्मचारी स्वयंले काम सम्पन्न गर्ने गरी केन्द्र सञ्चालनमा आएपछि सेवाग्राहीले सहज महशुस गर्दै आएका छन्।
नगरले सार्वजनिक सेवा प्रवाहलाई नियमित, मितव्ययी, कानुन सम्मत, प्रभावकारी र औचित्यपूर्ण बनाई नागरिकमैत्री स्थानीय शासन सञ्चालन गर्न यो सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा विभिन्न सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजात केन्द्रमा रहेका कर्मचारीलाई प्रदान गर्नेछन् । उक्त काम केन्द्रका कर्मचारीलाई सम्बन्धित शाखा र कर्मचारीमार्फ सम्पन्न गरेर सेवाग्राहीलाई बिदाइ गर्ने गरी सेवा सुरु गरिदै यो कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
यो कार्यको सुरुवात भएपछि सेवाग्राहीलाई विभिन्न शाखा र कर्मचारीलाई भेट्न जानुपर्ने बाध्यता हटेको छ।