प्रतिनिधि सभा सदस्य श्रेष्ठले दशैं भत्ताको रकम चार जना मिर्गौलापीडितलाई उपलब्ध गराउने
- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ -किसान)ले आफुले पाउने दशैं भत्ता जिल्लाका चार जना मिर्गौला पीडितलाई उपलब्ध गराउने घोषणा गरेका छन् । सांसद श्रेष्ठल सोमबार एक विज्ञप्ति जारी गर्दै संसद सचिवालयले उपलब्ध गराएको दशैं खर्च बापतको ६४ हजार रुपैयाँ रकम जिल्लाका चार जना मिर्गौलापीडितलाई उपलब्ध गराउने जनाएका छन् ।
व्यास नगरपालिका-१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका-४ का अब्दुल गफ्फार मियाँ, व्यास नगरपालिका-१२ का अनुप क्षेत्री र व्यास नगरपालिका-१४ का सन्तोष रानालाई १६/१६ हजार रुपैयाँको दरले रकम सहयोग गर्ने जारी विज्ञप्तिमा भनिएको छ ।
मुलुक अहिले विषम् परिस्थितिबाट गुज्रिरहेको र नागरिकहरु समस्याग्रस्त भएको अवस्थामा दशैँ पर्वका अवसरमा प्राप्त गरिने भत्ताका विषयमा टिकाटिप्पणी उठिरहेको भएपनि त्यो रकम आफुले मिर्गौलापीडितलाई दिने तयारी गरेको सांसद श्रेष्ठले बताएका छन् ।
सांसदका रुपमा निर्वाचित भएर शपथ ग्रहण गरेपश्चात् अहिलेसम्मको सबै महिनाको पारिश्रमिक तनहुँ जिल्लाका विभिन्न संघसंस्था र समुदायलाई उपलब्ध गराउँदै आएको बताउँदै सांसद श्रेष्ठले आगामि दिनमापनि उक्त सहयोगलाई निरन्तरता दिने जनाएका छन् ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण समुदायस्तरमा देखिएको हुँदा भाइरस संक्रमणबाट सुरक्षित हुन सबैले स्वास्थ्य सुरक्षाका सामाग्रि प्रयोग तथा मापदण्ड पालना गर्न आग्रह गर्दै सांसद श्रेष्ठले भने, ‘अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण नागरिक आक्रान्त बनेका छन् । देश विषम् परिस्थिति र नागरिक आर्थिक कठिनाइमा परेका बेला समस्याग्रस्त नागरिकलाई सहयोग गर्नु सबैको जिम्मेवारी हो ।’