पत्रकार जिम्मेवार र निष्पक्ष हुनुपर्छ : पूर्वमन्त्री गुरुङ
भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले पत्रकार जिम्मेवार र निष्पक्ष बन्नुपर्नेमा जोड दिएका छन् । प्रेस चौतारी नेपाल तनहुँको दमौलीमा बुधबार आयोजित नवौ अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले पत्रकारिता क्षेत्र संवेदनशील रहेकाले पत्रकार जिम्मेवार र निष्पक्ष बन्नुपर्ने बताए ।
राज्यको चौथो अंगको रुपमा रहेका पत्रकारले सदैव सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउँदै गुरुङले भने, ‘पत्रकारिता जगतले सधै राज्यलाई खबरदारी गर्नुपर्छ, पत्रकारिता जगतबाट पनि अन्याय हुन सक्ने भएकाले त्यसतर्फचनाखो बन्नुपर्छ ।’ गुरुङले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा पत्रकारिता क्षेत्रबाट पनि सहयोग गर्नुपर्ने बताए ।
देश निर्माणमा साझा एजेण्डा बोकेर अगाडी बढ्नुपर्ने बताउँदै गुरुङले भने, ‘समृद्ध नेपाल निर्माणका लागि सोच हुनुपर्छ भनेर भनिराखेका छौ, तर त्यो सोच भनेको के हो स्पष्ट हुनु जरुरी छ । समाजवाद स्थापना गर्ने अभियानमा सबै लागौ ।’ लोकतन्त्र र परिवर्तनका लागि सञ्चारजगतबाट खेलिएको भूमिका अतुलनीय रहेको गुरुङको भनाई थियो ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य भगवती न्यौपानेले समाज परिवर्तनमा सञ्चारकर्मीको महत्वपूर्ण योगदान रहेको बताइन् । नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र निवर्तमान अध्यक्ष केदार सिग्देलले पत्रकारिता क्षेत्रको विकासमा एमाले सदैव प्रतिबद्ध रहेको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेले सञ्चारमाध्यमलाई संघीयता नआएको बताउँदै स्थानीय सञ्चारमाध्यम संकटमा रहेको बताए । पत्रकार जहिल्यैपनि व्यावसायिक बन्नुपर्नेमा जोड दिँदै उनले भने, ‘पत्रकारमाथि नै औला ठड्याउने स्थिति आउन दिनुहुँदैन ।’
प्रेस चौतारी नेपाल तनहुँका निवर्तमान अध्यक्ष नारायण खड्काको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराइ, प्रेस युनियनका अध्यक्ष अमरराज नहर्की, प्रेस सेन्टरका अध्यक्ष एसवि नेपाली, फोनिजका अध्यक्ष किरण श्रेष्ठ, सञ्चारिका समूहका अध्यक्ष सम्झना रसाइली, क्रियाशील पत्रकार महिला तनहुँका निवर्तमान अध्यक्ष अञ्जना तिमिल्सना लगायतका वक्ताहरुले पत्रकार महासंघमा शुद्धिकरण आवश्यक रहेको चर्चा गरेका थिए ।
पत्रकार सम्मान
यस्तै, प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कारबाट जिल्लाका दुइ पत्रकार पुरस्कृत गरिएको छ । उक्त पुरस्कारबाट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराइ र सञ्चारिका समूह नेपालका केन्द्रीय सदस्य बसन्ती बास्तोलालाई पुरस्कृत गरिएको हो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ, निवर्तमान अध्यक्ष केदार सिग्देल, अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले उक्त पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशी जनही दश हजार रुपैयाँ रहेको छ । विविध कारणले गत वर्षदेखि नियमित हुन नसकेकाले यस पटक दुबै जनालाई उक्त पुरस्कार प्रदान गरिएको शाखाका अध्यक्ष नारायण खड्काले बताए ।

प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट एक लाख रुपैयाँको पत्रकारिता अक्षयकोष स्थापना गरेको छ । उक्त कोषको व्याजबाट अधिवेशनका अवसरमा प्रत्येक एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, सोही अवसरमा शाखाका पूर्व अध्यक्षहरु तारानाथ उपाध्यय, शिवदत्त ढकाल, प्रेमप्रसाद पौडेल र त्रिभुवन श्रेष्ठलाई सम्मान गरिएको छ । शाखाको स्थापनाकालदेखि पुर्याएको योगदानको कदर गर्दै पूर्व अध्यक्षलाई सम्मान गरिएको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।
प्रेस चौतारी तनहुँको अध्यक्षमा श्रेष्ठ
प्रेस चौतारी तनहुँ शाखाको नवौं अधिवेशनबाट अध्यक्षमा राजकुमार श्रेष्ठ बिबि सर्वसम्मत चयन भएका छन् । शाखाको उपाध्यक्षमा कृष्णचन्द्र न्यौपाने, उपाध्यक्ष महिलामा सम्झना रसाइली, सचिवमा ऋषिकान्त दुवाडी, सहसचिवमा किरण श्रेष्ठ र सुनिता आचार्य, कोषाध्यक्षमा मदन तिमिल्सिना चयन भएका छन् ।

अधिवेशनबाट शाखाको सदस्यहरुमा ध्रुव सुवेदी, सविन लामिछाने, अञ्जन परियार, शर्मिला विक र अशोक विक चयन भएका छन् ।










