जनप्रतिनिधिहरुले भत्ता कोरोना कोषमा जम्मा गर्ने

- भञ्ज्याङ समाचारदाता (दमौली)
जिल्ला समन्वय समिति तनहुँ तथा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुले आफुले पाउने चाडबाडको भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पीसीआर शुल्क नागरिकसँग नलिने घोषणा गरेका छन् । सरकारले शुल्क लिएर मात्र पीसीआर परीक्षण गर भने पनि शुल्क लिएर गर्न सकिने अवस्था नभएको भन्दै उनीहरुले पीसीआर निःशुल्क नै गर्ने घोषणा गरेका हुन् ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले तथा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको नेतृत्वमा बसेको बैठकले आफ्ना नाममा प्राप्त हुने चाडबाड खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । निर्णयमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षले सहमति जनाएका छन् ।
समन्वय प्रमुख वाग्ले र उपप्रमुख पवित्रा पौडेल, व्यास प्रमुख न्यौपाने र उपप्रमुख मिरा जोशी, भानु प्रमुख उदयराज गौली र उपप्रमुख आशा थापा, शुक्लागण्डकी प्रमुख किसान गुरुङ, म्याग्देकी अध्यक्ष माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरे, ऋषिङका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्ष गिनुमाया थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र उपाध्यक्ष पुष्पा श्रेष्ठ तथा देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले निर्णयमा सहमति जनाएका छन् ।










