पत्रकार महासंघ तनहुँले विभिन्न पुरस्कारबाट छ जना पत्रकारलाई पुरस्कृत गर्ने

दमौली : नेपाल पत्रकार महासंघ तनहुँले विभिन्न पत्रकारिता पुरस्कारका लागि पुरस्कृत व्यक्तित्व छनोट गरेको छ । शाखा अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले शाखामा स्थापित विभिन्न पत्रकारिता पुरस्कारबाट छ जना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष उज्वल पौडेललाई प्रदान गर्ने निर्णय भएको छ । मुक्तिनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कार शाखाका सल्लाहकार नारायण खड्का, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार शाखाका पूर्व कार्यसमिति सदस्य श्रीहरि पौडेल, कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार निवर्तमान उपाध्यक्ष अस्मिता खनाललाई प्रदान गर्ने निर्णय भएको छ ।
उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार संघीय परिषद् सदस्य राजकुमार श्रेष्ठ विवि, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कार पूर्व सहसचिव मिला दरैलाई प्रदान गर्ने निर्णय भएको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।
सुरज गुरुङ स्मृति पुरस्कारको राशी रु पाँच हजार र अन्य सबै पुरस्कारको राशी रु दश हजार रहेको छ। शाखाले यसअघि नै भाग्यशालाी ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार पूर्व अध्यक्ष ओमकार आचार्यलाई प्रदान गर्ने निर्णय गरिसकेको छ ।
महासंघले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटन लगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । उक्त सबै पुरस्कार आगामी चैत १६ गते महासंघको स्थापना दिवसका अवसरमा प्रदान गरिनेछ ।
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
यस्तै, नेपाल पत्रकार महासंघ तनहुँ शाखाले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लास्थित सञ्चारकर्मीहरुलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। शाखाको बैठकले सबै सञ्चारकर्मीलाई राजनीतिक दलको प्रचारप्रसार नगर्न, उम्मेदवारको पक्ष र विपक्षमा नरही तटस्थ, निष्पक्ष रुपमा रिपोटिङ गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
साथै महासंघका सदस्यहरुले उम्मेदवारको पक्षमा प्रचारप्रसार गरे नगरेको शाखाका तर्फबाट अनुगमन गर्ने निर्णय भएको जनाइएको छ । बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला पक्षहरुलाई अनुरोध गरेको छ ।
यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा भवन मर्मतका लागि नेपाल पत्रकार महासंघ तनहुँलाई रु दश लाख बजेट प्राप्त भएकामा एकीकृत सेवा कार्यालय तनहुँको इष्टमेट अनुसार काम अगाडी बढाउने निर्णय भएको शाखाले जनाएको छ ।










