जीवन उपयोगी ज्ञानले छात्राहरुको दैनिकी सहज बन्दै

दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित शुक्ला माध्यमिक विद्यालयकी छात्रा विनिमाया थापा जीवन उपयोगी ज्ञान लिएपछि आफ्नो दैनिकीमा धेरै परिवर्तन भएको बताउँछिन् । पहिले समय व्यवस्थापन गर्न नसक्दा निकै समस्य हुने गरेको थियो । तर, अहिले आवश्यकताको आधारमा समय व्यवस्थापन गर्ने ज्ञान प्राप्त भएपछि सहज भएको उनि बताउँछिन् ।
यस विद्यालयमा रुम टु रिडको सहयोग तथा सूर्योदय क्लव संयोजनमा विद्यालयमा अध्ययनरत बालिकाहरुलाई बिगत २ वर्षदेखि शिक्षक निर्देशित मोडल अन्तर्गत जीवन उपयोगी ज्ञान तथा सीप मुलक तालिम उपलब्ध गराउँदै आइएको छ । ‘विद्यालयको पढाई संगसंगै जीवन उपयोगी तालिम लिदा दैनिकी नै परिवर्तन भएको छ’, कक्षा ८ मा अध्ययनरत थापाले भनिन्, ‘पढाईसंगसंगै घरको कामहरु पनि व्यवस्थापन गर्न नसक्दा पढाईमा पनि असर परेको थियो । तर अहिले दैनिक दिनचर्याको कार्यतालिका बनाई त्यही अनुसार चलेकी छु ।’
यस्तै, जीवनउपयोगि ज्ञानले आफुमा आत्मबिश्वास बढेको कक्षा ८ मा अध्ययनरत सिर्जना थापाले बताइन् । उनले भनिन्, ‘पहिले नयाँ मान्छेसंग अन्तरक्रिया गर्न अप्ठ्यारो लाग्थ्यो । तर अहिले निर्धक्क भएर आफ्ना कुरा राख्न सक्ने भएकी छु ।’
कार्यक्रमबाट आत्मविश्वसी बन्न, समयको व्यवस्थापन गर्न, महिनावारी, हिंसा, उत्पीडन, जलवायु परिवर्तन लगायतका विषयमा जानकार भएको उनीहरु बताउँछन् । बालिकाहरुलाई म नेतृत्व गर्न सक्छु, बुलिङ प्रतिवाद गर्ने, आफैसंग कुरा गर्ने र आफुलाई शान्त पार्ने, अवरोध पन्छाउने तथा लगनशिल बन्ने, विश्लेषणात्मक सोचाई सीप, जलवायु परिवर्तन, मनि फ्लो, आय लगायतका विषयहरुमा सहजिकरण गर्ने गरिएको विद्यालयका सहायक प्रधानध्यापक तथा सहजकर्ता शिक्षिक सुनिता बुढाथोकीले बताइन् ।
यस्तै, विद्यालयका प्रधानध्यापक केशर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशा नेपाली, ऋषिङ गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख सुवास रानाभाट, रुम टु रिडका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे लगायतले बालिका शिक्षा कार्यक्रम अन्तरगत बालिकाहरुको सिकाई प्रभावकारिता र उपलब्धिको अनुगमन गरेका थिए ।










