तनहुँमा जलेका कार्यालय सरसफाई तथा मर्मत सुधार गरी अत्यावश्यक सेवा सुचारु गरिदै
सार्वजनिक संरचना र सवारीसाधान तोडफोड तथा आगजानी गर्नेको प्रमाण संकलन गरी कारवाहीको दायारामा ल्याइदै

तनहुँ : गत भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा तोडफोड र आगजानी हुँदा सार्वजनिक सम्पत्तिको ठूलो क्षति भएको छ । प्रदर्शनकारीले विशेष गरी सरकारी कार्यालय र कार्यालयमा रहेका सवारी साधनमा तोडफोड र आगजनी गरेका थिए ।
तोडफोड र आगजानीबाट जिल्ला प्रशासन कार्यालय, तनहुँ जिल्ला अदालत र जिल्ला समन्वय समिति पूर्ण रुपमा क्षति भएका छन्। यी कार्यालयमा सेवा प्रवाहका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रि जलेर नष्ट भएपछि सेवा प्रवाह कसरी गर्ने भन्ने अन्यौलता सृजना भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

उनले भने, ‘तोडफोड र आगजनीपश्चात् सेवा अवरुद्ध भएपछि अत्यावश्यक सेवा सञ्चालनको तयारी भइरहेको छ । सबै कार्यालयलाई परिपत्र गर्दै क्षतिको विवरण संकलन गर्न समेत निर्देशन दिएको छ ।’
तोडफोड र आगजनीबाट कार्यालयमा भएका फोहर सरसफाइ गर्न समेत कर्मचारीलाई आग्रह गरिएको बताउँदै उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले पनि सरसफाई गरी अत्यावश्यक सेवालाई क्रमिक रुपमा प्रवाह गर्ने तयारीमा जुटेको छ । अत्यावश्यक सेवा प्रवाह भइरहेको छ र उपलब्ध साधानस्रोतको प्रयोग गरी नागरिकताको प्रमाणपत्र वितरण कार्यलाई सुरु गर्ने तयारीमा छौं ।’

जिल्लाका अधिकांश कार्यालय तोडफोड र आगजनी तथा कार्यालयमा रहेका सवारी साधानमा आगजनी गरिएको छ । यो क्षतिको विवरण संकलन तथा सबै व्यवस्थापन मिलाएर अत्यावश्यक सेवा भने तत्कालै सञ्चालन गर्न थालिएको छ । कम क्षति भएका कार्यालयहरुले आइतबारैबाट सेवा प्रवाह गरेका छन् ।
जेनजीको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय, तनहुँ जिल्ला अदालत, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन वन कार्यालय, सरकारी वकिलको कार्यालयका भवन र सवारीसाधन तोडफोड र आगजनी गरिएको छ ।

यस्तै, प्रदर्शनकारीले आगजानी गर्दा जलेर ध्वस्त भएको तनहुँ जिल्ला अदालतले आइतबारदेखि कार्यालय परिसरको टहराबाट सेवा प्रवाह सुचारु गरेको छ । अदालतले दुवै पक्ष उपस्थित भइ मिलापत्र हुने फिरादपत्र दर्ता गरी मिलापत्र गर्ने, पक्राउ पुर्जी अनुमति, जरुरी पक्राउ पुर्जी स्वीकृति, म्याद थप, अभियोगपत्र दर्ता गरी थुनछेक तथा सुनुवाइ गर्ने, बन्दीप्रत्यक्षीकरण, अन्तरिम आदेशसहितको निषेधाज्ञाको निवेदन दर्ता गरी सुनुवाइ गर्ने र दर्ताद्वारा विवाह, अधिकृत वारेनसनामा दर्ता गरी प्रमाणिकरण गर्ने लगायतका सेवा सुचारु गरेको छ ।

यता जिल्लाको शान्ति सुरक्षाको पाटोलाई बलियो बनाउँदै लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले बताए । उनले भने, ‘जिल्लामा रहेका ३६ वटा प्रहरीको युनिटमा प्रदर्शनकारीले कुनै क्षति नपु¥याएका कारण अहिले सबै युनिटमा प्रहरी तैनाथ रहि शान्ति सुरक्षालाई मजबुत बनाउँदै अगाडि बढेका छौं ।’
आन्दोलनकारीको तोडफोड र आगजानीका कारण ७८ वटा सवारी साधान र ३१ वटा भौतिक संरचनामा क्षति पु¥याइएको हुँदा फोटो, भिडियोको माध्यमबाट प्रमाणहरु संकलन भइरहेकाले सबै नागरिकको साथ सहयोगमा तोडफोड र आगजानीमा संलग्नहरुलाई कानुनी कारवाहीको दायारमा ल्याइने तयारी भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

यस्तै, तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ परेका छन् । जेनजी आन्दोलनको बहानामा फरार भएका २० महिला सहित ३२७ जनामध्ये शनिबार रातिसम्म १०९ जनालाई पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ६८ पुरुष, ९ जना महिला र ३२ पुरुष थुनुवा रहेका छन् ।
प्रहरीले जेनजी आन्दोलनको बहानामा तनहुँ कारागारबाट फरार रहेका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । देशको विकसित असामान्य परिस्थितिको फाइदा लिई हिरासत र कारागारबाट फरार रहेका थुनुवा, कैदीबन्दीलाई स्वेच्छिक रुपमा नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालयमा सम्पर्कमा आउन आग्रह गरिएको र अन्यथा आवश्यकताको आधारमा बल प्रयोग गरी नियन्त्रणमा लिने भएको छ ।











